Logo

पुनर्बीमाको बजार विकास गर्न निर्देशिका



काठमाडौं, जेठ २७ । बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर)सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । पुनर्बीमा दलाल (ब्रोकर)को पुँजी निर्धारण गरी दर्ता तथा नियमको व्यवस्था मिलाई पुुनर्बीमा बजारको विकास गर्ने उद्देश्यले समितिले निर्देशिका जारी गरेको हो ।

उक्त निर्देशिकाअनुसार बीमा व्यवसाय सञ्चालन गर्न स्थापित सङ्गठित संस्थाको अधिकृत पुँजी कम्तीमा १० करोड रुपियाँ हुनुपर्ने, त्यसको ५० प्रतिशत रकम चुक्ता पुँजीका रूपमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै पुँजीमध्येबाट अधिकृत पुँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई वाणिज्य बैङ्कको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै इजाजतबिना कसैले पनि पुनर्बीमा दलाल भई कार्य गर्न पाउने छैन भने दलाल सङ्गठित संस्था हुनुपर्ने व्यवस्था समितिले गरेको छ ।पुनर्बीमा दलालले बीमकले जारी गरेको बीमालेखअन्तर्गत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमकको तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बजारको तथ्याङ्क विश्लेषण गरेर पुनर्बीमित÷पुनर्बीमकलाई उपलब्ध गराउने, दाबी भुक्तानी सहजीकरण गर्ने, सम्झौता तयार गर्न सहयोग गर्ने, सम्झौताअनुसार लिने दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्ने कार्य गर्ने निर्देशनमा उल्लेख छ ।

त्यस्तै जोखिमअनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्ने, बीमितका लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्न प्रयत्न गर्नेलगायतका कार्य तोकिएका छन् । समितिले विदेशी पुनर्बीमा दलालसम्बन्धी पनि व्यवस्था गरेको छ । पुनर्बीमा दलालहरूको अन्तर्राष्ट्रिय व्यावसायिक पहुँच प्रतिष्ठा तथा समितिले तोकेको अन्य आवश्यक मापदण्डका आधारमा समितिले नेपालमा सम्पर्क खोल्न इजाजत दिनसक्ने निर्देशनमा उल्लेख छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot