Logo

नयाँ मन्त्री : विवादितदेखि दल र गुट परिवर्तन गरेकासम्म (भिडियोसहित)



जेठ २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार मन्त्रिपरिषद् विस्तार गर्दा केही विवाविदत, केही दल परिवर्तन गरेका, केही गुट परिवर्तन गरेका र केही आशालाग्दा नेतालाई मन्त्री बनाएका छन् । १९ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दा ओलीले एक जना अलि बढि नै विवादित व्यक्तिलाई मन्त्री बनाएका छन् । ति हुन नारदमुनी राना ।

कूटनीतिक राहादानी दुरुपयोग गरी मानव तस्करी गरेको जस्तो गम्भीर अभियोग लागेका रानालाई ओलीले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका छन् । तत्कालीन संविधान सभाका सदस्य एवं व्यवस्थापिका संसदका सांसदहरूको हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी मानव तस्करी गरेको मुद्दा सर्वोच्चमा पेसी चढ्ने र मुद्दाका विवरण मगाउने आदेश हुँदै आएको छ । अन्तिम सु्नुवाइका लागि योग्य भएको यो मुद्दा कोरोनाका कारण देशभर लकडाउन भएपछि अघिल्लो वर्ष पेसीमा चढ्न सकेको थिएन ।

रातो पासपोर्टको दुरुपयोग गरी मानव तस्करीमा सघाएको आरोपमा उनलाई २० असार ०६८ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । उनीविरुद्ध राहदानी ऐनअुनसार सरकारी वकिलले मुद्दा दायर गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक थिए । तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो । तर प्रधानमन्त्री ओलीको पक्षमा अधिकारी अडिग भएरु लागिरहे । सरकार, संसद र पार्टीमा जिम्मेवारी नदिएपछि उनले असन्तुष्टि जनाउँदै आफूलाई पोखरा महानगरपालिका ३१ को वडा कमिटीमा राख्न माग गरेपछि चर्चा थप चुलिएको । तर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा गृहमन्त्रीको जिम्मेवारी पाएसँगै अधिकारीलाई हाइसन्चो भएको छ । अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।

पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापालाई संचार तथा सूचना प्रविधि मन्त्री बनाइएको छ । २०४० सालमा रामबहादुरसँग विवाह गरेकी नैनकला विगतमा महिला आयोगको अध्यक्ष थिइन् ।

प्रधानमन्त्री ओलीले मुगुका एमाले नेता तथा निवर्तमान सांसद मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरी मन्त्री बनाएका छन् । २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट सांसद निर्वाचित भएका बानियाँ यसअघि पटकपटक मन्त्रीबन्ने प्रयास गरे पनि सफल भएका थिएन । बानियाँ एमालेमा अध्यक्ष ओली पक्षका पुरानै नेता मानिन्छन् ।

गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । पहाडी केही समयअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा थिए । नवौं महाधिवेशनमा नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित पहाडी वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा सहभागि नै भएनन् । पछिल्लो समय राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको पत्रमा पहाडीको पनि हस्ताक्षर थियो । आफूले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भए पनि देउवाका पक्षमा बुझाइएको भन्दै असन्तुष्ट बनेपछि ओली पक्षमा लागेका थिए ।

ज्वालाकुमारी साह कृषि तथा पशुपक्षि विकास मन्त्री बनेकी छिन् । साह तत्कालीन माओवादीबाट प्रदेश सभा–२ मा सांसद निर्वाचित भएकी हुन् । बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह–इन्चार्ज थिइन् । नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शाहलाई सांसद पदबाट हटाइदिएका थिए ।

आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । विकलाई दलित महिलाको कोटाबाट एमालेले समानुपातिक सांसद बनाएको थियो । उनी मुक्ति समाजको अञ्चल सदस्य र तत्कालीन नेकपा एमालेको जिल्ला कमिटी सदस्यसमेत भइसकेकी छिन् ।

ओली नेतृत्वको चुनावी सरकारमा जनता समाजवादी पार्टीको महन्त ठाकुर समूहले राम्रै भाग पाएको छ । यसअघि राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरिएका थिए । अध्यक्ष ठाकुरबाहेक उक्त गुटका सबै मुख्य नेताहरू मन्त्री बन्दा राजकिशोर यादव भने छुटेका थिए । मन्त्री बन्न नपाएर यादव पार्टीमा असन्तुष्ट बनेको चर्चा थियो । विहिबार प्रधानमन्त्रीले यादवलाई पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएपछि जसपाको महन्थ पक्षबाट मात्रै ११ जना सरकारमा सहभागि भएका छन् ।



प्रतिक्रिया दिनुहोस्