काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता राजनीतिमा निर्णायक शक्ति नभएको साँढे ३ वर्ष भइसकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डकै मुख्य भूमिका थियो । तर, त्यसपछिको साँढे ३ वर्ष प्रचण्ड निरन्तर कमजोर बन्दै गए ।
प्रचण्डले सुरुमा आफू पक्षीय नेताहरुलाई शक्तिशाली मन्त्रालय दिलाउन सफल भए । तर, ती नेताहरुले नै उनको साथ छाडे ।
२३ फागुन २०७७ को सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्ड केही समय कमजोर भए । उनी खेमाका मन्त्रीहरु ओली सरकारबाट हटाई । बादल र लेखराज भट्टले माओवादी त्यागेर एमालेमा जोडिन पुगे । प्रतिनिधि सभाका ४ प्रत्यक्ष निर्वाचित सांसद नै दल त्याग गरेर गए ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार धरमरायो । तर, प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा, एमालेका माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादवसँग गठबन्धन बनाउन सके । गठबन्धन उनका लागि फाइदाजनक भयो ।
कर्णालीमा एमालेबाट फ्लोर क्रसको अवस्था बनाएर भएपनि महेन्द्रबहादुर शाहीको सत्ता जोगाए । सुदूरपश्चिममा पनि त्रिलोचन भट्ट नेतृत्वको सरकार जोगियो । दुवै माओवादीबाट मुख्यमन्त्री बनेका हुन् । अब कुनै आश्चर्यजनक घटना नभए अर्को चुनावसम्म कर्णाली र सुदूरपश्चिममा माओवादी नेतृत्वकै सरकार रहन्छ ।
प्रदेश २ मा पनि माओवादी सरकारमा सहभागी भएको छ । प्रचण्डका लागि मधेशमा यो अर्को सफलता हो ।
लुम्बिनी प्रदेशमा पनि गठबन्धनबीच माओवादी नेतृत्वको सरकार निर्माणको सहमति बनेको छ । ओलीनिकट एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री पदबाट हटाउने प्रयास भइरहेको छ । त्यसमा सफल भएमा माओवादीले ७ प्रदेशमध्ये ३ प्रदेशमा नेतृत्व पाउँछ । जबकि ओलीसँग मिल्दा माओवादीले २ वटा प्रदेशमा मात्र नेतृत्वको अवसर पाएको थियो ।
एमाले नेतृत्वको सरकार रहेको ४ प्रदेशमा सरकार ढाल्ने प्रयास जारी छ । त्यसमा सफलता हासिल भए माओवादी पनि सरकारमा सहभागी हुने सम्भावना छ ।
प्रचण्डमाथि एमाले कब्जा गर्न खोजेको आरोप लाग्दै आएको थियो । ओलीसँगको टकराव हुँदै पार्टी विभाजिन भएकाले उनी एमालेको एकमात्र अध्यक्ष बन्न असफल भएका छन् । तर, उनले एमालेभित्र फाटो ल्याउन सकेका छन् । अहिले एमालेको माधव नेपाल समूहसँग प्रचण्डको गठबन्धन रहेको छ । भविष्यमा एमाले औपचारिक रुपमा विभाजन भएमा प्रचण्ड र माधव नेपाल मिलेर एकीकृत कम्युनिस्ट पार्टी समेत निर्माण गर्न सक्ने रणनीति बनेको खुलिसकेको छ ।
प्रचण्डको साँढे तीन वर्ष शक्ति घटेपनि अहिले ह्वात्तै बढेको छ । उनी राजनीतिको केन्द्रबिन्दुमा छँदै छन् । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता प्रचण्डकै मुख्य एजेन्डा हो । उनी गिरिजाप्रसाद कोइराला नभएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता आफूमात्र भएको भन्ने गर्छन् ।
प्रचण्ड पार्टीको शक्तिका हिसाबले अहिले तेस्रो स्थानमा छन् । प्रभावको हिसाबले चौंथो स्थानमा छन् । तर, उनले फेरि रणनीतिक चार्तुयता देखाएर शक्ति सञ्चय गरेका छन् । उनलाई पछिल्लो राजनीतिक घटनाक्रमले निकै फाइदा पुगेको छ ।