Logo

‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’



काठमाडौं, जेठ २९ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्‍याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ।

प्रतिनिधिसभा विघटन भएपछिको परिस्थितिबारे छलफल गर्न सभामुखले पूर्वप्रधानमन्त्री, दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई शुक्रबार बोलाएका थिए। संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफलमा पूर्वप्रधानमन्त्री तथा शीर्ष नेताहरूले संविधान असफल बनाउने प्रपञ्च प्रधानमन्त्री ओलीले गरेको भन्दै त्यसलाई रोक्न अहिल्यै सचेत भएर लाग्नुपर्ने निचोड निकालेका हुन्।

‘६ महिनाभित्र निर्वाचन हुन ओलीले नै दिँदैनन्। त्यसपछि हुने भ्याकुमको अवस्थामा खेल्ने रणनीति उनको हुनेछ। उनलाई कुनै पनि हालतमा सफल हुन दिनुहुँदैन भन्दै पूर्वप्रधानमन्त्रीहरूले सभामुखलाई समेत सचेत रहन आग्रह गरे।’

‘सर्वोच्च अदालतमा संसद् विघटनको मुद्दा विचाराधीन छ। यो असंवैधानिक कदम भएकाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ। कथंकदाचित प्रतिगामी शक्तिको खेलमा संसद् पुनर्स्थापना भएन भने मुलुक संविधान नै असफल हुने दिशामा जानेछ। अहिले सभामुखले पनि यसमा सचेत भएर बस्नुपर्ने बेला आएको छ भन्ने निष्कर्ष रह्यो’, बैठकपछि एक सहभागी नेताले भने।

छलफलमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संसद् पुनर्स्थापना भएन भने ६ महिनाभित्र निर्वाचन गर्न प्रधानमन्त्री ओली तयार नहुने अवस्था देखिएको भन्दै सचेत रहनुपर्ने बताएका थिए। निर्वाचन नै नभएपछि आउने शून्यताको अवस्थाले व्यवस्था नै फेल गराउन सक्ने खेलप्रति सचेत हुनुपर्ने बेला आएको आफूले छलफलमा बताएको उनले जानकारी दिए।

उनले भने, ‘संसद् पुनर्स्थापना हुन्छ भन्ने हामीलाई विश्वास छ तर प्रतिगामी शक्तिको खेलमा पुनर्स्थापना भएन भने लोकतन्त्र खतरामा पर्नबाट बचाउन अहिल्यै सचेत हुनुपर्ने बेला आएको छ।’ नेपालमा भएको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने आन्तरिक तथा बाह्य शक्तिले खेल्ने प्रयास गरिरहेको तर्फ आफूले सबैलाई सचेत बनाएको डा। भट्टराईले बताए। ‘सभामुखले पनि लोकतन्त्र बचाउने प्रयासमा लागिरहने बताउनुभयो’, उनले भने।

जसपा अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र खतरामा पर्न लागेकाले त्यसलाई बचाउन सबै सचेत हुनुपर्ने बेला आएको निष्कर्षमा पुगेको बताए। नेमकिपाका प्रेम सुवाल र राप्रपाको प्रतिनिधिले भने संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला नआउँदै यस विषयमा छलफल गर्नु उचित नभएको बताएका थिए।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, डा। भट्टराई र झलनाथ खनाल ९भर्चुअल० सहभागी थिए। यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दीपक बोहोरा र नेमकिपाबाट सुवाल सहभागी थिए। छलफलमा प्रधानमन्त्री ओलीलाई पनि बोलाइएको थियो तर उनी अनुपस्थित थिए भने जसपा महन्थ ठाकुर समूहको पनि उपस्थिति थिएन। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot