Logo

काठमाडौंमै सिटामोलको हाहाकार



काठमाडौं, जेठ २९ । काठमाडौं उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो ।

बजारमा सिटामोल अभाव हुन थालेपछि यतिबेला आमउपभोक्ता मेडिकल पसल चहार्न थालेका छन् । पछिल्लो समय अस्पताल जानेभन्दा घरमा आइसोलेसनमा बस्ने सङ्क्रमित धेरै हुँदा सिटामोल खरिद उच्च हुन पुगेको छ ।

उपभोक्ता अधिकारकर्मी भने औषधि उत्पादक व्यवसायीले कोभिडको यो सङ्कटको बेलामा औषधिजस्तो संवेदनशील विषयमा कृत्रिम अभाव सिर्जना गरेको बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको बताए ।

उनले भने, “अहिले बजारमा दुई कारणले सिटामोल अभाव भएको छ । एक भारतमा महँगो मूल्य पाइने भएकाले निर्यात गरिएको छ। अर्को भएको सिटामोल लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गरिएको छ । ”
नेपाल औषधि उत्पादन सङ्घका महासचिव विमल अधिकारीले सिटामोलको उत्पादनमा कुनै कमी छैन तैपनि बजारमा अभाव देख्दा आफूलाई आश्चर्य लागेको बताए ।

सिटामोलको भाउ बढ्नुका तीन कारण रहेको भन्दै उनले भने, “पहिलो बजारमा उच्च माग, दोस्रो औषधि वितरकबाट भारतमा महँगोमा बिक्री, तेस्रो सिटामोलको कच्चा पदार्थको पनि अभाव हुन थालेको छ । ती सबैको असर अहिले बजारमा देखिएको छ । ”

उनले भने “औषधि उत्पादनमा कुनै कमी अहिलेसम्म भएको छैन । पछिल्लो एक महिनाको बीचमा मात्रै डेढ करोड ट्याब्लेट सिटामोल उत्पादन गरेर बजारमा पठाएका छौँ । आज मात्रै ६२ लाख ट्याब्लेट बजारमा गएको छ । ”
बजारमा सिटामोलको अभावको हल्ला चलेपछि उत्पादक सङ्घले शुक्रबार उपत्यकाका तीन जिल्लामा सञ्चालित फार्मेसीमा अनुगमनका क्रममा पनि अभाव भएको पाइएको महासचिव अधिकारीले जानकारी दिए।

त्यसो त यतिबेला भारतीय बजारमा भन्दा नेपाली बजारमा सिटामोलको मूल्य कम छ । नेपालमा एक रुपियाँ पर्ने सिटामोल भारतीय बजारमा भारतीय लगभग दुई रुपियाँ पर्न जान्छ । खुला सीमाका कारण नेपाली बजारमा खरिद गरेर भारतमा बेच्ने गिरोह सक्रिय हुँदा पनि नेपालमा उत्पादित सिटामोल व्यवसायीसम्म पुग्न नसकेको हुनसक्ने उद्योगीको आशङ्का छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्