दीपक भण्डारी : म स्वछन्द, स्वतन्त्र रूपमा आफ्नो जीवनलाई जिउन चाहन्छु, जसरी पक्षी खुला आकाशमा निस्फिक्रीका साथ आफ्नो गतिमा उडछन् । म पनि केही कुराको प्रवाह नगरी उड्न चाहन्छु, रमाउन चाहन्छु । मेरो चाहना छ मेरो जीवन हाँसोस् अनि मस्तसँग नाचोस् । मलाई मेरो जीवन चिडिया खानामा जो अरूको मनोरञ्जनका लागि थुनिएर राखेका ती निर्दोष पशुपन्छीजस्तो बनाउनु छैन । म चिडियाखाना जाँदा कताकता मेरो मन गरुङ्गो भएर आउँछ र म आफैलाई प्रश्न गर्छु, किन हामी मानव कसैको स्वतन्त्रतामा यतिबिघ्न बाधक बन्छौँ ? हामी यिनीहरूलाई एउटा घेरामा कैद गर्ने अधिकार राख्छौँ ? यी स्वतन्त्र हुन पाए भने यिनीहरूको जीवन कति रमाउँदो हो ? कति नाच्दो हो ? जङ्गल सफारी गर्दा देखेको त्यो बाघ जसलाई देख्दा डरले जिरिङ्ग बनेको त्यो काँपेको शरीर र चिडियाखानामा कैद गरिएको लाचार बाघ देख्दा जागृत भएको दया अनि सहानुभूतिको क्षणमध्ये अहिले पनि मलाई त्यो डराएर काँपेको क्षण नै अविस्मरणीय लाग्छ । मयुरले प्वाँख फिँजारेर नाचेको त्यो बर्दियाको जङ्गलमा अकस्मात् देखेको दृश्य अहिले पनि मनलाई आनन्दित र रोमाञ्चित तुल्याउँछ तर चिडियाखानामा त्यही मयूरको फिँजारिएको प्वाँख हेर्दा लाग्छ बिचरा यो पन्छी कति विवश हो र उसले गरेका क्रियाकलाप हेर्दा कतै पनि प्राकृतिक देखिँदैन र विवशताले नाचेको अनुभूति हुन्छ, जसरी मदिरा घरमा विवशताले नाचेकी नर्तकीजस्तै ।
म कल्पना गर्छु कति रोमाञ्चित हुन्थ्यो होला ? यो संसार नक्सामा रेखाङ्कन गरिएजस्तो देशको सीमा घेराबन्दी गरिएजस्तो मान्छेको आवत–जावतलाई पनि अवरोध र कठिन नगरेको भए । यो भिसा लिनुपर्ने नियम नभएको भए म कति स्वछन्द तरिकाले मेरो संसार हेर्दो हुँ । आज मेरो संसार हेर्न पनि मलाई बन्देज किन ? म आँखाभरि पनि मेरो संसार हेर्न पाउँदिनँ । कता कता रिस उठ्छ, आफूलाई जन्जीरले बाँधेको जस्तो अनुभूति हुन्छ, मेरो परिधिलाई खुम्च्याइदेकोमा र मेरो स्वच्छन्दता र स्वतन्त्रतामा बाधक बनेकोमा । म आफूलाई केही फरक पाउँदिन चिडियाखानाको त्यो जीवजन्तु र आफूमा त्यही अलिकति परिधि फराकिलो मात्र होला शायद ।
मलाई मेरो संसारलाई परिक्रमा गर्ने रहर छ –मलाई । मेरो संसारमा भएका सागरमा डुबुल्की मार्ने रहर छ –शायद । मेरो पल्लो संसारको कुनै कुनामा बसेको मजस्तै मेरो मित्र जसलाई आँखाभरि सगरमाथा हेर्ने रहर हुँदो हो । यहाँ मानवजाति नै माटोमा यति अधिकार जमाउँछन् कि मानौँ उनीहरूले नै कोरेको चित्र हो यो संसार । म पनि घमण्ड गर्छु सगरमाथा मैले नै कोरेको चित्र हो कि ! जसरी मेरो पल्लो कुनामा बसेको मेरो मित्र घमण्ड गर्छ, त्यो महासागर उसले रचना गरेको कविताजस्तै ! सतही सोच र विचारको उपज हो यो । घमण्ड र सफल हुने होड हो यो शायद । हरेक कुरामा शक्तिशाली हुने लडाइँ हो यो, तर मानवजाति बिर्सिदै छ यो क्षणिक उपलब्धिको लागि व्यर्थको प्रयाश हो । नलगाऊ यो शक्तिको धाक, शक्ति स्थिर हुन सक्दैन । गुटबन्दी नगर, घेराबन्दी नगर, स्वतन्त्रता र स्वच्छन्दतालाई आफू केन्द्रित भएर परिभाषित नगर । हे मानवजाति ! तिमी अझ पनि अँध्यारोमा छौ । म कहिले काहीँ पागल हुन्छु कि जस्तो लाग्छ यो प्रकृतिको पागलपन देख्दा । म मेरो संसारलाई आँखाभरि कैद गर्ने मेरो पागलपन हेर्दा ।
के मेरो संसार सीमित छ र ! मेरो आँखाले कैद गर्न सक्ने ? मैले अहिले बुझेको संसार हेर्न पाए अझ परको संसार बुभ्mने आकाङ्क्षा पक्कै पनि बढ्दो हो । मलाई पनि चन्द्रमा पुग्ने इच्छा जाग्दो हो अनि मङ्गलग्रह अनि के के ! यो ब्रमाण्ड बुभ्mने दुस्साहस हुँदो हो । जति म कल्पनामा मेरो संसारको धेरै पर पुग्न खोज्छु, घुमिफिरी आफूमै केन्द्रित पाउँछु, मेरो मनलाई कैद गर्न खोज्छु र मभित्रको ब्रह्माण्डलाई बुभ्mने प्रयास गर्छु बुझे झैँ लाग्छ तर बुभ्mन सक्दिनँ –म कतै सीमा नै भेट्दिनँ, म न त आकार नै भेट्छु । आफू भित्रको गहिराहीमा डुबुल्की मार्न खोज्दा म मेरो आत्मा परमात्मा निकट पाउँछु, आनन्दको उत्सर्गमा पुग्छु अनि मेरो यात्रा सङ्गीतमय बन्छ ।
यो संसारको भौतिक उपलब्धि र भौगोलिक बनोटमा मलाई तिमी सीमित बनाउन सक्छौ होला, मेरो स्वतन्त्रता र स्वच्छन्दता खोस्न सक्छौ होला, मेरो परिधि तोक्न सक्छौ होला तर मेरो अध्यात्ममार्गको सीमा तिमी खिच्न सक्दैनौ न त समेट्न नै । तिमीले मेरो यो भौतिक संसारको लागि गरिबीको मापन गर्ने विभिन्न मानक तोक्न सक्छौ होला तर मेरो आध्यात्मिक संसारको गहिराइलाई मापन गर्ने मानक तिमी पहिल्याउन सक्दैनौ । जबसम्म तिमीभित्र रहेको अँध्यारोमा आध्यात्मिक प्रकाशका किरण छिर्न दिँदैनौ । अध्यात्मको न कुनै सीमा हुन्छ, न कुनै घेरा ।
अध्यात्म खुला र फराकिलो हुन्छ, जसले सबैलाई समेट्न सक्छ । अध्यात्मले ज्ञानको महासागरमा डुबुल्की मार्न सिकाउँछ । म बुभ्mदै छु – मेरो बाहिरी भौतिक संसार देख्ने र भोग्ने चाहना शायद मभित्र रहेका विकारी तत्त्व अर्थात् लोभ, मोह, अहङ्कार, ईष्र्या, दम्भजस्ता तत्त्वको प्रभावले गर्दा होला । कर्म गर फलको आशा नगर भन्ने भनाइलाई मनन गर्दै केही कुरामा रहेको आसक्तिलाई त्याग्न सक्नुपर्छ । स्वाभाविक रूपमा केही प्राप्ति हुन्छ भने स्वीकार्न पनि सक्नुपर्छ । केही कुरा चाहना राखी नपाउँदा उत्पन्न हुने रिस अनि क्रोधले आफूभित्र रहेको ऊर्जालाई नाश गर्दछ । प्रेम र सद्भावले स्वीकारोक्ति बढाउँछ । आत्मचिन्तनले भित्री संसारलाई बुझ्ने प्रयास गर्न सकिन्छ जसले अतृप्त चाहनाको खोजीमा भौँतारिनेभन्दा पनि संयमित भई हरेक पल आनन्दित जीवन जिउन सिकाउँछ । न केही चीज पाउँदा खुशी न केही चीज गुमाउँदा पीडा ।
स्वछन्द र स्वन्तन्त्र रूपमा निरन्तर रूपमा म मेरो जीवनको यात्रामा आनन्दित भएर अघि बढिरहेको छु मैले मेरो जीवनको जन्मबाट प्रारम्भ भएको यात्राको अर्को गन्तव्य ‘मृत्यु’सम्म मेरो यात्रालाई सकेसम्म उत्सवको रूपमा उल्लासमय र अविस्मरणीय बनाउन चाहन्छु र बाँकी रहस्यमय यात्रा जसको गन्तव्य पनि रहस्मय छ त्यसलाई रहस्यको गर्भमै रहन दिइर म अहिलेको यात्रामा खुशीका साथ निर्बाध रूपमा अघि बढेको छु, नित्य निरन्तर ।