Logo

प्रधानमन्त्रीविरुद्ध गलत अभिव्यक्ति दिने नरोत्तम बैद्यलाई पक्राउ गर्ने तयारी, बालुवाटारमा छलफल



काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको भनेर विवादस्पद अभिव्यक्ति दिएका वाग्मती प्रदेश सभाका काँग्रेस सांसद नरोत्तम वैद्यलाई पक्राउ गर्ने तयारी गरिएको छ । एमालेका नेता तथा कार्यकर्ताहरुले नै प्रधानमन्त्रीविरुद्ध यस्तो अभिव्यक्ति दिने सांसद बैद्यलाई कारबाही गर्न दबाब दिएका छन् ।

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमाले नेताहरुले बैद्यलाई कारबाही गर्न निर्देशन दिन भनेका छन् । बैद्यमाथि फौजदारी अभियोगमा कारबाही गर्नेगरि तयारी थालिएको स्रोतले जनाएको छ ।

आज बसेको प्रदेश सभा बैठकको सुरुवातमै सांसद बैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।

बैद्यले हिजोको प्रदेशसभा बैठकमा “खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु” भन्ने अभिव्यक्ति दिएका थिए । उनलाई पार्टीले पनि तत्काल उक्त अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको थियो ।

बैद्यले अभिव्यक्ति फिर्ता लिएर माफी मागेपनि उनलाई कुनैप्नि हालतमा उन्मुक्ति दिन नहुने एमाले नेताहरुको भनाई छ । प्रधानमन्त्रीलाई मार्छु भनेर संसद्जस्तो गरिमामय स्थानमा सार्वजनिक अभिव्यक्ति दिनु सामान्य कुरा नभएको उनीहरुको भनाई छ । विश्वस्त सूत्रका अनुसार बैद्यलाई सके आजै नभए भोलिसम्ममा पक्राउ गरेर कारबाही गरिने तयारी थालिएको छ । यसको लागि प्रधानमन्त्रीले प्रहरी प्रशासनलाई निर्देशन दिईसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्