Logo

पटकपटक बत्ती गइरहने समस्याले उपभोक्ता मारमा



सुर्खेत, जेठ ३०। सुर्खेतमा विद्युत् आपूर्ति अनियमित हुँदा कोरोनाले प्रभावित उपभोक्ताको दिनचर्या झनै कष्टकर बनेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले घरमै बस्न बाध्य नागरिक विद्युत् नियमित आपूर्ति नहुँदा थप समस्यामा परेका हुन् ।

पटकपटक बत्ती गइरहने र आए पनि कम भोल्टेजले उपभोक्तालाई सास्ती भएको छ । वीरेन्द्रनगरका सोनेलाल सुनार अलिकति हावाहुरी चल्नेबित्तिकै बत्ती जाने गरेको बताउँछन् । ‘अघोषित लोडशेडिङले उपभोक्ताले सास्ती खेप्दै आएका छन्,’ उनले भने ।

लोडशेडिङ नभए पनि छिनछिनमै विद्युुत् जाने समस्याले उपभोक्ता मात्र होइन, विद्युत् प्राधिकरणका कर्मचारी समेत आजित छन् । ‘कतिबेला विद्युुत् आउँछ, कतिबेला जान्छ, पत्तै हुँदैन,’ वीरेन्द्रनगर–१० का श्यामभक्त आचार्यले भने, ‘विद्युुत् प्राधिकरणले न उपभोक्तालाई विद्युुत् जाने सूचना दिन्छ न आउने जानकारी नै ।’ विद्युुत् नियमित नहुँदा सरकारी कर्मचारी र सञ्चारकर्मीलाई पनि समस्या भएको छ ।

३३ केभीएको कोहलपुुर स्टेशनबाट धेरै ठाउँमा विद्युुत् वितरण भएकाले आपूर्तिमा समस्या आउने गरेको प्राधिकरणका कर्मचारी बताउँछन् । विद्युत् वितरण केन्द्रका अनुसार कोहलपुुरबाट सुर्खेत आउने ३३ केभीए प्रसारण लाइन निकै पुुरानो भएकाले पनि समस्या हुुने गरेको छ । ‘नयाँ १३२ केभीए लाइन नबन्दासम्म यो समस्या यस्तै भइरहनेछ,’ विद्युत्का एक कर्मचारीले भने, ‘पुरानो विद्युत् वितरण संरचना भएकाले प्राविधिक समस्या आउँदा विद्युत् काट्नुपरेको हो ।’ नयाँ ट्रान्सफर्मर जडान गर्दै गरेको र सडकमा काम भइरहेकाले केही दिनयता बत्ती अलि बढी जाने आउने भएको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्