Logo

राप्ती अस्पताललाई भेन्टिलेटर सहयोग



दाङ, ३० जेठ: तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङमार्फत ती भेन्टिलेटर सहयोग प्राप्त भएको हो । ती स्वास्थ्य सामग्रीलाई गोर्खा सिमिस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई र नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा ट्रष्टका अध्यक्ष राईले कोभिड महामारीको समयमा नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गर्न संस्थाले सरकारी अस्पतालमा भेन्टिलेटर सहयोग गरेको बताए । उनले संस्थामार्फत नेपालका सरकारी अस्पतालमा ४५ भेन्टिलेटर हस्तान्तरण गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य शाक्यले अस्पताललाई भेन्टिलेटर सहयोग गरेकामा धन्यवाद दिँदै कोभिडपछि पनि भेन्टिलेटर अस्पतालका लागि अति उपयोगी हुने बताए । सहयोग हस्तान्तरण गरेकामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले अस्तालमै आएर स्वास्थ्य सामग्री प्रदान गरेको जनाउँदै ट्रष्टका अध्यक्ष राईलाई धन्यवाद दिए ।

यसैबीच राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ । सो सेवा सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म रु एक लाख बराबारको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलोपटक लक्षित समूहले आकस्मिक अवस्थामा रु पाँच हजार, ओपिडीमा रु दुई हजार ५०० र भर्ना भएमा रु १० हजारसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ ।

एकै पटकमा बिरामीले रु एक लाखको औषधि उपचार भने गर्न नपाउने सामाजिक एकाइ समितिका प्रमुख हिमा पौडेलले जानकारी दिए । उनका अनुसार सेवा पाउने लक्षित समूहमा गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, विपद् एवम् प्राकृतिक प्रकोप भूकम्प बाढीपहिरो र आगलागीबाट पीडित, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति हुनुपर्ने छ । उपचार गर्न आउनेले परिचयपत्र अनिवार्य ल्याउनु पर्नेछ । परिचयपत्र नभएकाले भने यो सुविधा पाउने छैनन् । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले चार वर्षअघि उठाएको मुद्दा अहिले पूरा भएको बताए ।

सो एकाइको उद्घाटन गर्दै उनले ज्येष्ठ नगारिक, शहीद परिवार र जनयुद्धका घाइतेलाई अब रु एक लाखसम्मको उपचारमा कुनै समस्या नपर्ने र यसको सहजतका लागि उपमहानगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने घोषणा गरे। यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मात्र चिकित्सकले सिफारिस गरेका आधारमा निःशुल्क उपचार सेवा पाउने गर्थे ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्