Logo

पाँच पूर्वप्रधानमन्त्रीले कताबाट देखे बाह्य हस्तक्षेप र चलखेल ?



काठमाडौं, ३० जेठ । देशको प्रधानमन्त्री भइसकेका र अझैपनि राजनीतिको मूलधारमा प्रभावशाली रहेका पाँचजनाले शनिबार जारी गरेको संयुक्त वक्तव्यमा बाह्य शक्तिको हस्तक्षेप एवम् चलखेलको विषय उठाएका छन् । उनीहरुले नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने विषय समेत उल्लेख गरेका छन् । आखिर उनीहरुले किन यति संवेदनशील विषयलाई संयुक्त रुपमा उठाए ? के मुलुकमा बाहय चलखेल बढेकै हो ? बढेको हो भने कुन बाह्य शक्तिको चलखेल बढेको हो ? यी प्रश्नहरु उठेका छन् ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले जारी गरेको संयुक्त वक्तव्यको अन्ततिर विदेशी हस्ताक्षेप र चलखेको विषय उठाइएको छ । त्यसको ठिक माथि अर्को वाक्यमा नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि निरंकुश हमला भइरहेको उल्लेख छ ।

अन्तिम हरफको पहिलो वाक्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम उल्लेख नगरी निरंकुश हमलाको आरोप लगाउन खोजिएको छ । वक्तव्यको अन्तिम वाक्यमा विदेशी हस्तक्षेप र चलखेलको विषय उठाइएको छ ।

पाँच पूर्वप्रधानमन्त्रीले बाह्य हस्तक्षेप र चलखेलको संकेत दक्षिणतर्फ गरेका छन् । उनीहरुले भारतप्रति पछिल्लो समय आक्रोश र असन्तुष्टि सार्वजनिक रुपमा या प्रत्यक्ष अप्रत्यक्ष औंला उठाउँदै आएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओलीलाई ‘भारतको टाङमुनी छिरेको’ भनिसकेका छन् । उनले ओलीलाई ‘दक्षिणको त्वं शरणम् भएको’ भनेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भारतले ओलीलाई साथ दिएको आशयसहित असन्तुष्टि पोख्दै आएका छन् । उनले केही महिना अघि भारतलाई पनि कम्फर्टेवल हुने सरकार गठनको प्रसंग उठाएका थिए । तर, भारतले आफूहरुलाई पेलेर ओलीलाई साथ दिएको प्रचण्डको बुझाई रहेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि दक्षिणबारे मुख नफोरेपनि असन्तुष्टि जनाउँदै आएका छन् । झलनाथ खनालले पनि त्यस्तै असन्तुष्टि जनाउने गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लेखमार्फत् दक्षिणको आलोचना गरिसकेका छन् । विशेषगरी भारतको सत्तारुढ भारतीय जनता पार्टी र निकट राष्ट्रिय स्वयंसेवक संघमाथि बाबुरामले कडा असन्तुष्टि पोखेका थिए । ओलीलाई भारतले साथ दिइरहेको विषय पनि उल्लेख गरेका छन् ।

पाँच पूर्वप्रधानमन्त्रीले भन्न खोजेको बढ्दो बाह्य शक्तिको हस्तक्षेप र चलखेल भारतलाई नै हो । भारतमा पनि विशेषगरी सत्तारुढ भाजपाप्रति असन्तुष्टि जनाउन खोजिएको छ । तर, भारतमा अहिले विगतमा १२ बुँदे समझदारी गराउँदा हस्तक्षेप नहुने र अहिले ओलीलाई साथ दिंदा हस्तक्षेप हुने ? भन्ने प्रश्नहरु सत्तापक्षबाट उठिरहेको बुझिएको छ । सत्तारुढ भाजपाले १२ बुँदे समझदारी र त्यसपछिका कतिपय विकसित घटनाक्रमप्रति असनतुष्टि जनाउँदै आएको खुलेकै हो । १२ बुँदे समझदारी गराउँदा भारतको विदेश सचिव रहेका श्यामशरणले पनि १२ बुँदेको बचाऊ गर्दै नेपालमा हासिल भएको परिवर्तनलाई भारतले साथ दिनुपर्नेमा जोड दिदै आएका छन् । उनले इन्डियन एक्सप्रेसमा एक लेखमार्फत् स्पष्टसँग नेपाल मामलामा भाजपाको धारणा आउनुपर्ने विषय उठाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्