Logo

८ जिल्लामा भदौसम्म सडक खन्न रोक



काठमाडौं, जेठ ३१ । यो वर्षको मनसुन शुरू भएसँगै काठमाडौं उपत्यकासहितका विभिन्न ८ जिल्लामा सडक खन्न तथा सडकसम्बन्धी कुनै पनि कार्य गर्न रोक लगाएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि योे निर्णय कार्यान्वयन गर्न सम्बद्ध सडक डिभिजन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

आइतवार सूचना जारी गर्दै कार्यालयअन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, खुर्कोट, नुवाकोट, भरतपुर र चरिकोट सडक डिभिजनअन्तर्गत रहेका सडकहरू खन्न रोक लगाएको हो । कार्यालयका सुपरिटेन्डिङ इन्जिनीयर कैलाशकुमार श्रेष्ठले वर्षायाम शुरू भएसँगै विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल नै मर्मतसम्भार गर्न नसक्ने हुँदा असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्ने कार्य नगर्न भनिएको जानकारी दिए ।

खानेपानी÷धारा, ढल, बिजुली र टेलिफोनजस्ता प्रयोजनका लागि सडक खन्दा पीच गर्न नसकिने, सडकमा पानी जाम हुँदा सडक बिग्रने हुँदा सडक खन्ने कार्यमा रोक लगाइएको उनको भनाइ छ । वर्षामा कालोपत्र वा सडक पिच गर्न नसकिने र पानी परिरहने हुँदा काम गर्न समस्या हुने भएकाले सडक खन्ने कार्य बन्द गरिएको हो ।

कार्यालयले निर्देशनविपरीत सडक खनेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । कार्यालयअन्तर्गत रहने कुनै पनि सडक खन्न नदिने र कसैले जबरजस्ती खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने कार्यालयले जानकारी दिएको छ । कार्यालयअन्तर्गत यी जिल्लमा ३ हजारभन्दा बढी सडक सञ्जाल विस्तार भइसकेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot