Logo

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित



विराटनगर, जेठ ३१ । प्रदेश १ को आर्थिक बर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिपक्षमा रहेका कांग्रेस माओवादीले समर्थन नदिए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसँगै प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउने बाटो खुलेको छ ।

आइतवार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम जनता समाजवादी समेतले समर्थन गरेपछि बहुमत जुट्न सहज भयो । सरकारको वार्षिक नीति तथा कार्यक्रममा चुरे क्षेत्र संरक्षणसम्बन्धी विषय समेट्न जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले राखेको संशोधन प्रस्ताव मुख्यमन्त्री शेरधन राईले स्वीकारयोग्य भएको बताएका थिए ।

सरकारले आफ्नो दलको तर्फबाट राखेको प्रस्तावलाई समर्थन गरेको भन्दै यादवले वार्षिक नीति तथा कार्यक्रममा पेश गरेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका सभामुखबाहेक ५० सांसद छन् भने जनता समाजवादीका तीन जना सांसद छन् ।

एमाले एक्लैको बहुमत पुग्ने भए पनि जनता समाजवादीसमेतले संशोधन प्रस्ताव फिर्ता लिएपछि सरकारलाई अझ सहज भएको हो । यादव जनता समाजवादीका उपेन्द्र यादव निकट हुन् । प्रदेश १ मा यादव नेतृत्वकै बहुमत छ । प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पारित गरिने भए पनि सत्ताधारी दल नेकपा एमालेका सबै सांसद सहभागी थिए ।

एमालेले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका दुई राज्यमन्त्री र एक प्रदेशसभा सदस्यलाई समेत बैठकमा अलग्गै कक्षमा राखेर सहभागी गराएको हो । प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेको स्पष्ट बहुमत छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्