Logo

कोरोना उपचारमा बहुविधि उपयोगी



काठमाडौं, जेठ ३१ । कोरोना महामारीको उपचार व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ ।

केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा प्रदीप केसीले एउटै उपचार विधिमा सीमित हुनुभन्दा विभिन्न चिकित्सा प्रणालीबाट कोरोनाको उपचार गरे चाँडै निको हुने बताए । “आयुर्वेदिक उपचार मात्र भनेर पनि बस्नु हुँदैन, न एलोपेथिक मात्र । दुवैलाई सँगै लैजान सके बिरामी चाँडै निको हुने देखिएको छ”, उनले आफ्नो अनुभव सुनाए ।

आयुर्वेद चिकित्सालय नरदेवीमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सहितको आइसोलेसन सेन्टरमा रहेका सङ्क्रमितको उपचारमा आयुर्वेद, एलोपेथी, योग, प्राणायाम, कपिङ थेरापी, फिजियोथेरापी प्रयोग सुरु गरेको उनले जनाए । विभिन्न रोग र जटिल अवस्थाका बिरामीलाई पनि १० दिनमा निको गर्न सफल भएको दाबी गर्दै डा केसीले यो एकीकृत चिकित्सा प्रणाली कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी देखिएको पनि प्रस्ट पारे।

उनले भने, “अस्पतालमा भर्ना भएका सङ्क्रमितमध्ये करिब ९० प्रतिशत मध्यम र जटिल अवस्थाका थिए । सामान्य खालका बिरामीलाई आयुर्वेदिक औषधिअन्तर्गत ज्येष्ठवासादि मिश्रण काँडा, सितोपलादी, गौदन्ती, महासुवर्ण चूर्ण मिश्रित औषधि तथा लक्षणअनुसार आयुर्वेदिक फर्मुला ‘एक’ र ‘दुई’ दिइएको थियो ।”

मध्यम र जटिल अवस्थाका बिरामीलाई आयुर्वेदिक उपचार, एलोपेथी औषधि, अक्सिजनको प्रयोग, कपिङ थेरापी, आवश्यकताअनुसार स्टेरोइड, रेम्डेसिभिर, योग ध्यानको माध्यमबाट उपचार गरिएको पनि उनले बताए । डा केसीका अनुसार शरीरमा अक्सिजनको मात्रा घटेका, छाती दुख्ने तथा मांसपेशी दुख्ने, सुक्खा खोकी लागेका बिरामीलाई कपिङ थेरापी उपयोगी देखिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot