Logo

माधव नेपाल खेमालाई तान्ने ओलीको अर्को अस्त्र



काठमाडौं, ३१ जेठ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खेमालाई तान्न नयाँ अस्त्र तयार गरेका छन् । उनले नेपाल खेमाका नेताहरुसँग राजनीतिक लेनदेनको तयारी गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले प्रदेश देखि केन्द्र सरकारसम्म राजनीतिक लेनदेनको रणनीति बनाएर छलफलमा लगेका छन् । नेपाल खेमाका नेताहरुलाई उनले विभिन्न जिम्मेवारीसहित तान्ने प्रयास गरेका छन् ।

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढलेपछि ओली खेमाले प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सरकार जोगाउन पहल लागिसकेको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृतवको सरकार जोगाउन बागमती प्रदेशमा नेपाल खेमाकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने गरी छलफल बढेको छ । शाक्य विगत देखि नै मुख्यमन्त्रीकी दाबेदार हुन् ।

सुदूरपश्चिममा पनि ओली खेमाले माधव नेपाल खेमामा रहेका सभामुख अर्जुन बहादुर थापालाई मुख्यमन्त्री बनाउने गरी रणनीति बनाइसकेको छ । थापालाई मुख्यमन्त्री बनाउने प्रस्ताव ल्याएर २५ एमाले सांसद एकढिक्का बनाउने प्रयास बढाइएको छ ।

यसैगरी, ओलीले यसै हप्ता नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बोलाउने भएका छन् । उनले निर्वाचित स्थायी कमिटीलाई ब्युँताएर माधव नेपाल खेमालाई एकताका लागि वाध्य बनाउन खोजेका छन् ।

सर्वोच्च अदालतमा १४६ जना विघटित प्रतिनिधि सभाका सांसदको देउवालाई प्रधानमन्त्री बनाउन रिट दायर भएकोमा माधव नेपाल खेमाको फिर्ता गराउन ओली लागिपरेका छन् । केहीले फिर्ता लिने सहमति जनाइसकेको तर १३ जना संख्या नपुगेपछि ओली माधव नेपालसँगै प्याकेजमा सहमतिका लागि विश्वासपात्रहरुलाई सक्रिय बनाइरहेका छन् ।

प्रदेश देखि केन्द्र सरकारसम्म माधव नेपाल खेमासँग राजनीतिक लेनदेन गरी पार्टी जोगाउने र सत्ता पनि जोगाउन उनको प्रयास देखिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्