Logo

एमालेमा बामदेवले मार्लान् त बाजी ?



काठमाडौं, ३१ जेठ । नेकपा एमालेमा बामदेव गौतमले अझै अडान छाडेका छैनन् । उनी कुनै हालतमा एमाले एकता कायमै राख्ने भन्दै तटस्थ बसेका छन् । सकभर कम्युनिस्ट पार्टीहरुबीच नै एकता बनाउने उनको लक्ष्य छ ।

गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर दबाब बढाइरहेका छन् । ओलीलाई २ जेठ २०७५ मा पार्टी संगठनलाई फर्काउने निर्णयका लागि वाध्य पार्ने अठोट लिएका थिए । त्यो पूरा हुने सम्भावना बढ्दैछ ।

ओलीले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाडेमा एकता हुनसक्ने माधव नेपाल पक्षको प्रस्ताव पुगेको बुझिएको छ । त्यसमा पनि मध्यमार्गी बाटो निकाल्न गौतम लागेका छन् । उनले उपप्रधान तथा अर्थमन्त्री समेत रहेका विष्णु पौडेलसँग नियमित सम्पर्क या भेटघाट गरेर मध्यमार्गी बाटोमा सहमति निकाल्ने प्रयास गरिरहेको बुझिएको छ ।
अहिले एमाले एकता अभियान गौतमले चलाएपनि बाहिर सुवास नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतका नेताहरु देखिएका छन् । घनश्याम भुसाल पनि भित्री रुपमा एकता अभियानमै छन् ।

पौडेलसँग गौतमको पुरानो निकटता हो । पाण्डे र बिष्ट पनि गौतमसँग नजिकिएका छन् । योगेश भट्टराई एमाले फुट्दा पनि गौतमकै साथमा थिए । गौतम समेत भित्री रुपमा लागेर अहिले एमाले एकता अभियानमा ओली र नेपाल पक्ष दुवैतर्फका नेताहरु छन् ।

गौतमले विभिन्न विकल्पमा छलफल गरेर भएपनि एमाले एकता कायम गर्नुपर्ने अडान राख्दै आएका छन् । उनलाई पहलका लागि शितलनिवास देखि बालुवाटारसम्मबाट घचघचाउने क्रम बढेको बुझिएको छ ।

एमाले एकता भएमा बामदेवले बाजी मार्ने निश्चित छ । उनको कार्यकर्ता पंक्तिमा आकर्षण बढ्न सक्छ । एकताको रसायनका रुपमा परिणत भएर गौतमले भावी नेतृत्वकै बलियो दाबेदारी प्रस्तुत गर्ने आधार बन्न सक्छ ।

अहिले गौतमले विगतमा विभाजनको पीडा सम्झेर पनि तटस्थ बनेको देखिदैछ । अहिलेसम्म एमाले विभाजनको दाग मेटिएको छैन । यसपटक उनी एकताको मुख्य खेलाडी बनेर मेटाउने अवसर लिन खोज्दैछन् । तर, सजिलो भने छैन ।

ओली २ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएर मात्र माधव नेपाल मान्नेवाला देखिएका छैनन् । प्रतिनिधि सभा विघटनको सिफारिश फिर्ता गरेर जानुपर्ने शर्त राखिसकेका छन् । तर, अर्को शर्त प्रधानमन्त्री या पार्टी अध्यक्ष छाड्नुपर्ने नेपालले राखेको बुझिएको छ । त्यसका लागि ओली तयार देखिदैनन् । नेपाल पनि पार्टी या सरकारको नेतृत्वको दाबेदार बन्न खोजेका छन् । उनी पनि पछि हटिहाल्ने देखिदैन ।



प्रतिक्रिया दिनुहोस्