Logo

कुखुरा मर्नुका कारण दानामा समस्या हुनसक्ने



काठमाडौं, असार १ । शक्ति वा पोषणको स्रोतका लागि कुखुरालाई दाना खुवाइन्छ तर त्यही दाना कतै विष भइरहेको त छैन? विभिन्न सरुवा रोग लागेर धमाधम कुखुरा मर्न थालेपछि अहिले व्यवसायी तथा विज्ञहरूसमेतले दानाको गुणस्तरमा प्रश्न गर्न थालेका छन् ।

पश्चिम चितवन शिवनगरको अमृत पोल्ट्री फार्ममा गत वैशाख अन्तिमदेखि जेठ पहिलो सातासम्म दुई हजार दुई सयभन्दा बढी कुखुरा मरे । फार्मका सञ्चालक रामलाल भुसालले कुखुरा मर्नुमा विभिन्न प्रकारका सरुवा रोगसँगै गुणस्तरीय दाना नहुनु पनि कारण हुनसक्ने आशङ्का गरे।

“दानामा एकै किसिमको गुणस्तर छैन । हामीले प्रयोग गरिने दानाको पनि गुणस्तर अध्ययन हुनुपर्छ,” उनले भने।
उनको आशङ्कालाई विज्ञको तर्कले पुष्टि गरेको छ । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा सुबिर सिंह दानाको कच्चा पदार्थको स्रोतमै हुने ढुसीले दानामा विष उत्पादन गरेको बताउन्छन् । त्यस्तो दाना खाँदा कुखुरा मरेका हुनसक्ने उनको तर्क छ ।

“दानाको कच्चा पदार्थमा हुने ढुसीका कारण विभिन्न किसिमको ‘माइकोटाक्सिन’(ढुसीजन्य विष) उत्पन्न भई कुखुरामा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्नाले अनेकौँ सरुवा रोग लाग्ने जोखिम बढेको छ,” कुखुरामा देखिएको बढ्दो मृत्युदर अध्ययन तथा अनुसन्धानका लागि गठित विज्ञ प्राविधिक समूहका संयोजकसमेत रहेका उपाध्यक्ष डा सिंहले भने ।

“कुखुराको दाना खानयोग्य हुन ‘माइकोटक्सिन’ परीक्षणमा ‘अफ्लाटक्सिन’को मात्रा २० पीपीबीभन्दा कम हुनुपर्छ तर अहिले बजारमा आएका दानामा प्रयोग भएका कच्चा पदार्थ मकै वा ढुटोमा यसको मात्रा ७० देखि १२० पीपीबीसम्म पाइएको छ” उनले बताए।

ढुसीमा अफ्लाटक्सिनका साथै डन, अकराटक्सिन, टी २ लगायतका हानिकारक विषाक्त तत्त्व हुने र त्यसले कुखुराले सामान्य रूपमा दाना पानी मन लगाएर नखाने, छेर्नुका साथै मिर्गौलालगायतका अङ्ग सुन्निँदै गएर अस्वाभाविक र असाधारण तरिकाबाट मर्ने गरेको पनि उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्