Logo

देउवा सशंकित भएपछि माधव नेपालले यसरी आश्वस्त पारे



काठमाडौं, १ असार । नेकपा एमाले एकता प्रयास अगाडि बढेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षसँग सशंकित भएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच सहमति बनेर आफूलाई धक्का पर्नसक्ने आशंका गरेको बुझिएको छ ।

पछिल्लो समय ओली र नेपालबीच सहमति गराउन दुवै खेमाका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । ओलीले नेपालले राखेको शर्त बमोजिम २ जेठ २०७५ को अवस्थामा एमालेको संगठनलाई फर्काउने भनिसकेका छन् । यसबाट नेपाललाई ओलीसँग सहमति निकाल्ने दबाब बढेको छ ।

नेपाल खेमाका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र योगेश भट्टराई सहमति बनाउन सक्रिय छन् । बामदेव गौतमका अलावा सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत नेताहरु पनि एकता बचाउन लागिपरेका छन् । उनीहरु सहमतिको सूत्र बनाउन सक्रिय हुँदा काँग्रेसभित्र आशंकाहरु बढिरहेको छ ।

नेपाल ओलीसँग सहमति गरेर सर्वोच्च अदालतमा दायर रिटबाट पछि हट्ने आशंकाहरु पनि गरिएको छ । नेपाल खेमाका २३ जना सांसदले रिट दर्ता फिर्ता गरे १४६ बाट १२३ मा झर्छ । जसका कारण मुद्दा नै कमजोर भई देउवालाई प्रधानमन्त्री बनाउने आदेशको दिन भन्दै दायर गरिएको रिटको पक्षमा फैसला नआउने अवस्था बन्न सक्छ ।

एमालेभित्र ओली र नेपाललाई मिलाउने प्रयास तिव्र भएपछि देउवाले नेपालसँग गम्भीर कुराकानी गरेका छन् । प्रचण्ड समेत बसेर तीन नेताबीच गठबन्धन टुट्न नदिने प्रतिवद्धता व्यक्त भएको छ । एकता टुटाउने प्रयास भइरहेको भन्दै सचेत हुने सहमति बनेको बुझिएको छ । नेपालले ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद नत्यागेसम्म सहमति नहुने भन्दै आशंका नगर्न भनेको विश्वस्त स्रोतले बताएको छ ।

अहिले एमालेभित्र प्रदेशहरुमा सरकार बचाउन माधव नेपाल खेमालाई समेत समेटेर जाने तयारी भएको छ । बागमतीमा नेपाल खेमालाई मुख्यमन्त्री दिएर प्रदेश १ र लुम्बिनीमा सरकार बचाउने रणनीति समेत बनेको छ । सुदूरपश्चिममा पनि एमाले नेतृत्वको सरकार बनाउने प्रयास भएको छ । यसबाट देउवा मात्र नभई प्रचण्ड पनि सशंकित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्