Logo

मधेशमा राजकिशोर यादव निर्णायक, जसपालाई एकढिक्का बनाउन अझै सक्रिय



काठमाडौं, १ असार । राजकिशोर यादव जसपाको एकता कायम गर्न सक्रिय छन् । जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुँदै गर्दा यादव भने पार्टी एकताको लागि छलफलमा व्यस्त थिए । सुरुमा ओली सरकारमा जसपा सहभागी हुन लाग्दा यादव पनि मन्त्री बन्ने चर्चा थियो । तर, पछि मन्त्रीको नाम टुँगो लाग्दा उनको नाम थिएन । कतिपयले यादव अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग असन्तुष्ट बनेको पनि खबर आएका थिए ।

तर, यादव आँफैले भने आफू मन्त्री बन्न ईच्छुक नभएकोले किन असन्तुष्टि पोख्नु ? भन्दै उल्टै प्रश्न गरेका थिए । उनले आफू एकताको पक्षमा रहेको स्पष्ट पारेका थिए । तर, जसपाबाट १० जना मन्त्री बनेको केही दिन नबित्दै यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्न सफल भए । उनलाई पार्टीबाट भन्दापनि प्रधानमन्त्री ओली नै चाहेको कुरा पनि बाहिर आएको छ । उनलाई मन्त्री बन्न नदिन ठाकुर–महतो पक्षका केही नेताहरु नै लागेका थिए । तर, ओलीले नै यादवलाई बोलाएर सरकारमा आउन आग्रह गरेपछि उनी सरकारमा गए । तर, यो बीचमा पनि उनले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरुसँग पार्टी एकताको लागि सघन छलफल गरिरहेका छन् ।

उनी अझैपनि जसपा एकता हुनेमा विश्वस्त छन् । जसपा विभाजन हुँदा आफूहरु नै कमजोर हुने भन्दै त्यसतर्फ सबै सचेत बन्नुपर्ने उनको भनाई छ । जसपामा अहिले यादव निर्णायक बनेको नेताहरुको नै दाबी छ । एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग भने,‘उहाँ हाम्रो पार्टीमा अहिले निर्णायक शक्ति हुनुभएको छ । हुन त उहाँले पार्टी एकताको लागि ईमानदार प्रयत्न पनि गरिरहनुभएको छ । उहाँ सरकारमा पहिलो चरणमा नजानुको कारणपनि त्यही हो, सकेसम्म पार्टी एकता गर्नपर्छ भन्ने उहाँको चाहना थियो । अहिलेपनि उहाँ दुवै पक्षलाई एक बनाउन लागिपर्नुभएको छ ।’

सरकारमा सहभागी हुनको लागि उनलाई प्रधानमन्त्री ओली र पार्टीभित्रैबाट दबाब थियो । जसपानिकट उच्च स्रोतकाअनुसार सरकारमा सहभागी गराउनको लागि सबैभन्दा बढि त ओलीले नै चाहेका थिए । सरकारमा सहभागी हुनुभन्दा अघिल्लो दिन यादव प्रधानमन्त्रीसँग बालुवाटारमा भेटवार्तामा थिए । त्यही दिन नै यादव सरकारमा सहभागी हुने सहमति भएको थियो । एमालेनिकट स्रोतले भने अहिलेको सरकारलाई बहुमतमा राख्नको लागि ल्याईएको बताएका छन् ।

यादव अहिले पनि जसपाको एकता कायम गर्न लागिपरेका छन् । त्यसैले उनी ठाकुर र यादव पक्षले बोलाएका कुनैपनि बैठक वा छलफलमा गएका छैनन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । भोलि संसद् पूनःस्थापना भयो भने फेरि पनि जसपा एक हुनुपर्छ भन्ने उनको भनाई छ । हुन त यादव जसपाको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने लाईनमा थिए । तर, आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने अवसर आउँदापनि त्यसलाई ग्रहण गर्न नसकेकोमा भने उनी नेतृत्वसँग असन्तुष्ट पनि छन् । र, संसद् पूनःस्थापना भयो भने जसपाले एक ढिकाले प्रधानमन्त्री ओलीलाई साथ दिन पनि सक्छ भन्ने उनको बुझाई छ । पछिल्लो समय उनको सुझबुझपूर्ण राजनीतिक गतिविधिका कारण मधेशमा उनी निर्णायक नेताको रुपमा स्थापित भएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्