–कृष्ण दवाडी कास्की, २ असार : केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा चार वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । मादीको वडा नं १ र २ स्थित नदी किनारमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनामा गएरातिको बाढीले ठूलो क्षति गरेको हो ।
बाढीबाट ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेका अन्य तीन आयोजनामा आंशिक क्षति पुगेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना सम्पन्न भएर हाल सञ्चालनमा रहेका १० मेगावाटको सिक्लेस हाइड्रो पावर, १२ मेगावाट क्षमताको हिमालयन हाइड्रो(नार्माजुङ) र २५ मेगावाट क्षमताको अपर मादीमा क्षति पुग्दा विद्युत् उत्पादन अहिले बन्द भएको छ ।
अपर मादीको बाँध पुरिएको र विद्यृत् गृहमा बाढीले क्षति पु¥याएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पहिराले सिक्लेस हाइड्रको प्रशारण लाइन बगाएको छ भने विद्युत् गृह पनि जोखिममा रहेको बताइन्छ । आगामी वर्ष विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको सुपर मादी आयोजना बाढीले सबैभन्दा बढी प्रभावित बनेको छ । आयोजनामा काम गर्ने १७० जना मजदूरलाई भने स्थानीयवासी, नेपाली सेनालगायतको पहलमा आज बिहान उद्धार गरी विद्यालयलगायतका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइन्छ ।
रु सात अर्ब ५० करोड लगानीमा बन्दै गरेको सो आयोजनामा बाढीबाट रु एक अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार इलेक्ट्रो मेकानिकलतर्फ रु ३० करोड, हाइड्रो मेकानिकल रु १२ देखि १५ करोड, सिभिल कन्ट्रयाक्टरको निर्माण सामग्री, डन्डी, फलामसहित रु २० करोड, प्लान्ट र उपकरणमा रु २० करोड र सिभिल संरचनामा रु २० करोड गरी रु एक अर्ब हाराहारीमा क्षति पुगेको छ ।
यसैगरी आयोजनाको सुरुङबाहेक बाँध, विद्युत् गृह, हाइड्रो मेकानिकल र अन्य सिभिल संरचनाहरु बाढीले बगाएको छ । आयोजनास्थलमा रहेकका चार वटा एक्साभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, छ वटा कम्प्रेसर, अन्दाजी ४५० टन डण्डी र १० हजार बोरा सिमेन्ट बगाएको आयोजनाले जनाएको छ । “हिजो रातिको बाढीले आयोजनामा ठूलो वितण्डा मच्चाएको छ । मानवीय क्षति हुनबाट रोक्न सफल भएपनि हेडवक्र्स र विद्युत् गृह पूर्णतः नष्ट भयो ।” अध्यक्ष ढुङ्गानाले भन्नुभयो,“मानवीय क्षति रोक्न सफल भए पनि आयोजनामा करोडौँको भौतिक क्षति भएको छ ।” हाल आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएकामा बाढीका कारणले पुगेको क्षतिबाट आयोजना थप एक वर्ष लम्बिने र लागत बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
बाढीले २४१ भेडाबाख्रा बगायो
यसैगरी मादी गाउँपालिका—१ स्थित होकुमा रहेको भेडीगोठ बाढीले बगाउँदा २४१ भेडाबाख्रा बगेका छन् । सिक्लेसबाट चार घण्टाको समय लाग्ने विकट ठाउँमा रहेको भेडीगोठ हिजो राति बाढीले बगाएको खबर प्राप्त भएको सोही वडाका अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयो ।
मद्मी र कह्पा नदीको बीचमा रहेको स्थानीय लिलबहादुर गुरुङ र लेखनाथ गुरुङको भेडीगोठ बगाएको बताइन्छ । गोठमा २६३ भेडाबाख्रा रहेमा २२ वटा बाढीबाट बच्न सफल रहेका छन् । भेडीगोठ बगाएपनि तीन जना गोठालाहरु भने बाँच्न सफल भएको र उनीहरु सुरक्षित रहेको जनाइएको छ ।
वडाध्यक्ष गुरुङले भन्नुभयो,“बिहान हामीलाई भेडीगोठ बगाएको जानकारी आएको थियो । हेलिकप्टरबाट गोठालाहरुको उद्धार गर्ने तयारी गरेपनि मौसमको खराबीले सम्भव भएन, अहिले तीनै जना सुरक्षित स्थानमा रहेको र तल झर्दै गरेको भन्ने खबर पाएका छौँ ।”-रासस/File Photo