Logo

विस्थापितको पहरामा बास



पोखरा, असार ३ । भारी वर्षापछिको बाढीले मनाङमा व्यापक क्षति पुर्‍याएको छ। मर्स्याङ्दी खोला नजिकका होटल, घर, प्रहरी चौकी, बैंक तथा वित्तीय संस्थाका कार्यालय र गाउँपालिकाको वडा कार्यालय बगेका छन्। मौसम खराब हुँदा उद्धारका लागि हेलिकप्टरसमेत आउन सकेको छैन।

तीन दिनदेखिको पर्खाइमा रहे पनि मौसम खराबीले हेलिकप्टर आउन नसक्दा उद्धारमा खटिन कठिनाइ भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। सेनाले हेलिकप्टरमार्फत राहत सामग्री लिएर आउने तयारी गरेको भए पनि मौसम अनुकूल नहुँदा सम्भव नभएको उनले बताए। अहिलेसम्म मनाङमा ५३ घरमा क्षति पुगेको छ। तर सबै विवरण आइसकेको छैन। सदरमुकाम चामेभन्दा तल आधा दर्जन झोलुंगे पुल पनि बगिसकेका छन्। त्यस्तै मोटर बाटो पनि भासिएको छ। पक्की पुल पनि बगेका छन्। बाढीले बिजुलीको पावर हाउस बगाएको छ। पावरहाउसमा पानी पुर्‍याउने पाइपसमेत बगेको छ।

प्रजिअ लामिछानेका अनुसार सदरमुकाम चामेमा विस्थापित भएका करिब ३ सय जनालाई नयाँ कारागार भवनमा राखिएको छ। त्यस्तै प्राइम र प्रभु बैंकका शाखा कार्यालयमा पनि क्षति पुगेको छ। धारापानीको ओडार भन्ने ठाउँमा ७० जनाजति एकै ठाउँमा बसेका छन्। उनीहरूमध्ये स्थानीय तहका कर्मचारी पनि केही रहेको बताइएको छ। ‘सबैतिर अत्यासलाग्दो अवस्था छ। न त उद्धारमा जान सकिएको छ, न खटाउन नै,’ उनले भने, ‘बुधबार दिउँसो केही बेर थामिएको वर्षाले बेलुकातिर पुनः भीषण आकार लिइरहेको छ।’

सबैभन्दा जोखिममा नासों गाउँपालिका–१ तालगाउँका स्थानीय परेका छन्। तालगाउँमा ६० घर छन्। मर्स्याङ्दी नदीको किनारमै रहेको तालगाउँमा एउटा घर पनि बस्न लायक छैन। घर नबगेको भए पनि घरभित्र पानी पसेकाले समस्या भएको प्रजिअ लामिछानेले बताए। उनका अनुसार तालका बासिन्दा अहिले केही माथिको सुरक्षित स्थानमा बस्न पुगेका छन्। केही गाउँले आफन्तकहाँ पनि शरण लिन पुगेका छन्। बुधबार बिहानपख ङावलमा पहिरो झरेर केही बेर मर्स्याङ्दी नदी थुनिएको भए पनि एक घन्टापछि बग्न थालेको थियो। तल्लो भेगका धारापानी, थोचे र तालगाउँ पुरै विस्थापित भएका छन्। थोचेमा पहिरो आएर गाउँले विस्थापित भएका छन्। विस्थापित गाउँले पहरोमा आश्रय लिएर बसेको उनले बताए। ‘सबैतिर तहसनहस पारेको छ। उद्धारमा खटिन पनि सकस भएको छ,’ उनले भने।

सेना, सशस्त्र र नेपाल प्रहरीका गरी ३३ सुरक्षाकर्मी अहिले अति प्रभावित धारापानी, तालगाउँका लागि सदरकमुकाम चामेबाट हिँडेका छन्। तीनवटा सुरक्षा निकायका ११ जनाका दरले अधिकृतको नेतृत्वमा टोली अहिले धारापानी हुँदै तालगाउँसम्मका लागि हिँडेको उनले बताए। तालगाउँ पुरै सम्पर्कविहीन भएको उनले बताए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot