Logo

एक करोड डोज खोप ल्याउने कुरा भाषणमै सीमित



काठमाडौं, असार ४ । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए।

दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले खोप दिने जानकारी नदिएको बताएका छन्। ‘अहिलेसम्म कुनै देशबाट खोप आइहाल्ने हामीलाई जानकारी छैन,’ कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समितिका संयोजक डा श्यामराज उपे्रतीले भने।

दुई साताअघि पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनबाट थप ५० लाख भेरोसेलको खोप र अमेरिकाबाट थप ५० लाख खोप अष्ट्राजेनिका या भेरोसेलको खोप दिने बताएका थिए। उनले जेठ १४ गते स्वास्थ्य पत्रकार मञ्चको बैठकमा दशदिन भित्र सम्बन्धित देशहरूले खोप दिने बारेमा केही न केही जानकारी दिने बताएका थिए। मन्त्री ज्ञवालीले भनेका थिए, ‘हप्ता, दस दिनभित्रमा बे्रक थु्र हुन्छ।’

ज्ञवालीले अमेरिका र चीनकाहेक अन्य देशहरूसंग खोप ल्याउनको लागि कूटनीतिक पहल भइरहेको बताएका थिए। अमेरिकामा कानुनी प्रक्रिया पारेपछि भण्डारणमा रहेको अष्ट्रजेनिकाको खोप दिने बढी सम्भावना रहेको पनि बताएका थिए। पाँच दिनअघि परिवार कल्याण महाशाखाले अर्को साताभित्र कोभाक्सले खोप दिने जानकारी गराएको जनाएको थियो। तर कति संख्यामा दिने भन्ने कुरा भने यकिन थिएन।

प्रधानमन्त्री कार्यालय केही अन्य मन्त्रालयका अधिकारीहरूबाट पनि बेलाबखत विभिन्न देशबाट यति खोप आउने भनी सामाजिक सञ्जालमा पोष्ट भइरहेको देखिन्छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले भने खोप लिनको लागि खोप उत्पादन गरिरहेका देशहरूसँग दैनिकजसो नै छलफल गरी प्रयास भइरहेको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्