काठमाडौं, ४ असार । वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने-“सरकारले चुनाव, यो अनिर्णयको बन्दी, देशमा पटक पटक चाहीँ राजनीतिक पार्टीभित्रका विभिन्न किसिमका अभद्र खेल, र, सरकार चाहीँ जहिलेपनि सेक्युर नहुने, जताबाटपनि सरकारलाई विभिन्न किसिमको अवरोधहरु सिर्जना हुने, र सरकार गिराउनमा विभिन्न खालका गिरोह भनौं, अथवा विभिन्न किसिमका अपवित्र खेल भनौं भैरहने, त्यसले गर्दा सरकारले आफ्नो संवैधानिक प्रक्रियामा गएर अब यो भन्दापनि फ्रेश म्याण्डेटमा गएर, जनतासमक्ष गएर अब चाहीँ ताजा जनादेशका साथ अगाडि बढ्नुपर्छ भन्ने खालको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संवैधानिक हक, संवैधानिक अधिकार, बाटो प्रयोग गर्नुभएको हो ।” मन्त्री बानियाँले प्रधानमन्त्री ओलीले सबै विकल्प प्रयोग गर्दै गर्दै संविधानको धारा ७६ को उपधारा ५ मा पुगेको पनि दाबी गरे ।
उनले प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गरे । उनले भने-“मेरो चाहीँ राजनीतिक अड्कलबाजीको कुरा के हो एक नम्बरमा संसद् पूनःस्थापना हुन्छ, यो न्यायोचित कुरा हो । एक नम्बरमा संसद् पूनःस्थापना हुन्छ । ठूलो दल नेकपा एमाले हो । आधिकारिक रुपमा प्रधानमन्त्रीले एउटा संवैधानिकप्रदत्त ढंगले उहाँले चाहीँ प्रक्रिया अगाडि बढाउनुभएको छ । दोस्रो कुरा के हो भने यदि संसद् पूनःस्थापना भयो भने केपी शर्मा ओली नै प्रधानमन्त्री रहनेगरि उहाँले संविधानको धारा ७६ को ४ मा विश्वासको मत लिनेगरि त्यो निर्णय हुनसक्छ । यदि विश्वासको मत लिन सक्नुभएन भने उहाँ अपदस्थ हुनुहोला । प्रधानमन्त्रीबाट केपी ओली हट्न एकदम गाहो छ । यो कुरा भोलि देखिन्छ ।”