सिन्धुपाल्चोक, असार ५ । नेपाल प्रहरीका अनुसार बाढीपहिरोमा फसेका मध्ये सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार गरिएको छ । यस्तै बाढीका कारण चार दिनको अवधिमा १९९ वटा घर डुबानमा परेका छन् । १३८ घर, ११ गोठ, १२ पुल, विद्यालय र सातवटा सरकारी कार्यालयमा पूर्ण क्षति पुगेको छ ।
बाढीपहिरोका कारण एक हजार ७६० जना विस्थापित भएका छन् भने ५१६ वटा पशु चौपायको मृत्यु भएको छ । सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी स्थानान्तरण गरिएको छ । वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान र दैलेखलगायत विभिन्न स्थानमा पहिरो गई अवरोध भएको सडक तथा राजमार्ग प्रहरीले खुलाएको छ ।
बाढी पहिरो प्रभावित क्षेत्रमा क्षति न्यूनीकरण र उद्धारमा स्थानीय तह, विभिन्न सामाजिक संस्था र सुरक्षा निकायहरूबाट राहत वितरण भइरहेको छ । बाढी पहिरोमा पुरिएका घरबाट सामग्री निकालेर सुरक्षा गर्ने काम भइरहेको प्रहरी प्रवक्ता वसन्त कुँवर बताए ।