Logo

एमाले एकता नहुने हो भने सबै सिद्दिने हो, केपी ओली र हामीपनि खरानी हुने हो : भीम आचार्य (भिडिओसहित)



काठमाडौं, ५ असार । नेकपा (एमाले) का नेता तथा प्रदेश नम्बर १ का सांसद भीम आचार्यले कतिपय नेताहरुको गतिविधिका कारणले पार्टीको फूटको दिशातिर गएपनि यो बीचमा आफूहरुले एकताको लागि अग्रसर भएर कोशिस गरेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले पार्टीभित्र एकखालको अन्यन्तै तिव्र अन्तरविरोधहरु, समस्याहरु रहेका थिए, त्यसलाई अलिक मत्थर पार्ने काम गरेका छौं । यसलाई एकताबद्ध बनाउन सकिन्छ ।’ आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र नेताहरुमाथि गरिएको कारबाही आँफैमा अवैद्य रहेको दाबी गरे । उनले भने,‘एमालेले त्यो कारबाही गरेको होईन, त्यो केपी ओली गुटले गरेको कारबाही हो । त्यो गुटमा माधव नेपाल वा अरु कोही नेता हुँदै हुनुहुन्थेन् । त्यसैले कारबाही गरेको भन्नुको कुनै तुक छैन् । अदालतले नै त्यो कमिटी नै अवैद्य भनिसक्यो ।’ उनले राजनीतिक मुद्दामा फरक दृष्टि हुँदैमा पार्टी फुटिहाल्छ भन्ने कुरा नभएको पनि जिकिर गरे ।

उनले आफूहरुले केपी ओलीलाई र केपी ओलीले आफूहरुलाई साथ दिने पनि जनाए । उनले पार्टीको आधिकारिक स्थायी कमिटी बैठक बोलाएर अघि बढ्नुपर्नेमा पनि जोड दिए । उनले भने,‘केन्द्रदेखि तल वडासम्म हिजो वैधानिक प्रक्रियाबाट आएअनुसार स्थापित हुनुपर्छ ।’ प्रतिनिधिसभा विघटन गरेकोले माधव नेपालसहित सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेको पनि सुनाए ।

उनले एमालेको वार्ता कमिटी अहिले निष्प्रभावी भएको सुनाए । अहिले आफूहरुले एकताको लागि अनौपचारिक ढंगले वार्ता गरिरहेको सुनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले  गरेका कतिपय अवैधानिक निर्णय स्वतः खारेज हुने विश्वास दिलाए । उनले अहिले एमाले एकता नहुने हो भने सबै सिद्दिने टिप्पणी गरे । उनले भने,‘केपी ओलीपनि खरानी हुने हो, हामी पनि खरानी हुने हो । अनि मलाई लाग्छ, कुनै यी नेताहरु, आन्दोलनमा लागेका साथीहरु यो आपसी रिस, राग, द्धेष, ईख राखेर खरानी हुने बाटोमा हिँड्ने छैनन् । त्यसको आधारमा एकता हुन्छ ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot