Logo

केपी ओलीले दिउँसो होईन, राति शासन गर्नुहुन्छ : रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, ५ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् रामहरि खतिवडाले पार्टी १४औं महाधिवेशनको तयारीमा जुटिसकेको बताए । उनले भने,‘हामीसँग अब कुनै विकल्प छैन् । नेपाली कांग्रेसलाई अब नेपाली जनताको प्रिय र पहिलो पार्टी बनाउने जिम्मेवारी फेरि हाम्रो काँधमा आईपुगेको छ । संविधान र कानून मिच्चिएको अवस्था छ । नेपालमा कानूनी राज्य समाप्त पार्ने, संविधानलाई च्यात्ने, कानूनी राज्यलाई अवहेलना गर्ने, संसद् अन्त्य गर्ने, यो अवस्थामा कांग्रेसको काँधमा महत्वपूर्ण जिम्मेवारी आईपुरेको छ । एकातिर जनतालाई कोरोनाबाट जोगाउने पनि जिम्मेवारी छ, अर्को प्राकृतिक विपद्बाट पीडित भएकाहलाई राहत दिनुपर्नेछ । भदौमा कांग्रेसको महाधिवेशन हुन्छ । प्रक्रिया सुरु भैसकेको छ ।’

आज विहान नेपाली रेडियो नेटर्वकबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीको ठेगान नभएको जिकिर गरे । उनले भने,‘६ महिनाको बीचमा उहाँले आँफैलाई निर्माण गर्ने संसद् दुई पटक विघटन गर्नुभयो । मृत्युवरणमा लानुभयो । संविधान र कानूनअनुसार पनि अहिले अल्पमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन् । हामीले संसद्मा एउटा कुरा उल्लेख गरेका छौं । बहुदलीय व्यवस्था । यसमा सबैले भोट हाल्ने अधिकार हुन्छ । पार्टीले मात्रै होईन, सांसदपनि प्रधानमन्त्री हुनसक्छ भन्ने व्यवस्था छ ।

संविधानमा भएका प्रावधानलाई प्रधानमन्त्री ओलीलाई अध्ययन गर्न खतिवडाले सुझाव दिए । उनले प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाउनको लागि एकपछि अर्को गरेर असंवैधानिक कदम चालेको सुनाए । खतिवडाले प्रधानमन्त्री ओलीले दिउँसो नभएर राति शासन गरेको आरोप लगाए । उनले भने,‘उहाँले नैतिकता भन्ने शब्दलाई गोजीमा पोको पारेर राख्नुभयो । सिंहदरबारबाट होईन, बालुवाटारबाट शासन गर्नुभयो । राति आराम गर्ने ठाउँबाट सत्ता चलाउने सोच्नुहुन्छ । दिउँसो होईन, राति शासन गर्नुहुन्छ । प्रजातन्त्र र संसदीय व्यवस्थालाई अन्त्य गर्ने काम गर्नुभयो । त्यो अधिकार प्रधानमन्त्रीलाई छैन् ।’



प्रतिक्रिया दिनुहोस्