Logo

क्षणभरमै उजाड बन्योे चनौटे बजार



हेलम्बु, असार ६ । हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्नेबित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्नेबित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन् ।

बजारवासीलाई तीन दिनदेखि निद्रा लागेको छैन । कुन बेला बाढी बजारमा पस्छ भन्ने चिन्ता उनीहरूलाई छ । मेलम्ची चनौटे बजार भएर बग्ने गर्दछ । चनौटे बजारमा व्यापार व्यवसाय गर्दै आएका ताराबहादुर पण्डित बजारमा बाढी आएदेखि आफूलाई निद्रा नलागेको बतान्छन।

उनले भने “साँझ परेपछि खोला उर्लिन थाल्छ । पानीको बहाव बढेसँगै ढुङ्गा ठोकिएको ठल्ठूला आवाज आउने गर्दछ । मन थाम्न गाह्रो हुन्छ ।”

बजारमा उनका २० वटा सटर छन् । सबै बालुवा र ढुङ्गाले पुरिएका छन् । सटरमा भएका सामानहरू अब काम नलाग्ने भएको उनले बताए । बाजे–बराजुको पालादेखि नै मेलम्चीमा यस्तो बाढी नआएको उनको अनुभव छ ।

बाढीले बजार क्षेत्रका ५५ घरमध्ये २० घर बगाएको र करिब १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको उनको अनुमान छ । सोही बजारमा हेलम्बु मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका सन्देश तामाङले ग्राहकको चारवटा मोटरसाइकलसहित पसलका सबै सामान बगाएको बताए।

उनल भने, “असार २ गते साँझ ७ बजेतिर खोलामा ठूलो आवाजसँगै करिब १० मिटरजति उचाइको बाढी आयो । एकछिनमा नै पूरा बजार पानीले भ¥यो । मानिसमा रुवाबासी र भागाभाग भयो ।”

चनोटे बजारमा रहेको चारतले माछापुच्छ«े गेस्ट हाउसको दुई तला बालुवा, माटो र ढुङ्गाले पुरिएका छन् । बाढीले भवनको खोलातिरको पर्खाल बगाइसकेको छ ।

गेस्ट हाउसका सञ्चालक कुलमान तामाङले वर्षायाम भर्खर सुरु भएको र दिनहुँ अविरल पानी परिरहेकाले बाढीका कारण चनौटे बजारको अस्तित्व रहने कि नरहने उनले बताए । कालो बादल मडारिँदा र गर्जिंदा आफ्नो होसहवास नै गुम्ने गरेको उनले सुनाए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्