काठमाडौं, ६ असार । सरकारले काठमाडौं उपत्यकाभित्र लागू गरेको निषेधाज्ञा खुकुलो गर्ने भएको छ । निषेधाज्ञा अन्तको घोषणा नभइहाल्ने तर खुकुलो गर्दै लगिने योजना बनेको छ ।
आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलोको निर्णय लिन लागेको हो । बैठकले अहिलेसम्मको समिक्षा गरी सवारी सञ्चालनमा खुकुलो गर्न लागेको बुझिएको छ ।
अब निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने क्रममा सवारीमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । निजी सवारी जोर बिजोरमा सञ्चालन गर्न दिने तयारी भएको छ ।
सार्वजनिक सवारी साधन भने अझै सञ्चालनमा आउने छैन । एक हप्ताको अवस्था हेरेर कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक सवारी साधन आधा सिटमा चलाउन दिने तयारी समेत भएको छ ।
१६ वैशाखबाट जारी निषेधाज्ञा दुई महिना हुन लागेको छ । असारबाट भने केही खुकुलो पारिएको छ ।