असार ६, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको दावी गरेको धेरै समय भइसक्यो । केही दिनभित्रै खोप खरिदबारे सुखद खबर आउछ भनेर आश्वासन दिएको पनि लामै समय बितिसकेको छ । तर अहिलेसम्म त्यो दिन आएको छैन् ।
यद्यपी सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भएको बुझिएको छ । दुई देशबाट ९० लाख डोज खोप खरिदका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । तर विगतमा पनि गरेका प्रयास असफल भएकाले मन्त्रालय यसपटक पनि खोप आउनेमा ढुक्क छैन ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप नेपाल नआएसम्म कुनै पनि अनुमान गर्न सक्ने अवस्था नरहेको बताएका छन् । सरकारले खोप आयात गर्न कठिन हुने देखेपछि निजी क्षेत्रलाई अनुमति दिएको थियो । तर अनुमति पाएका कम्पनीले अझैसम्म खोप ल्याउन सकेका छैनन् ।
भारत बायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको हो । तर भारतले तत्काल खोप निर्यात नगर्ने नीति लिएकाले अनुमति पाए पनि खरिद गर्न नसकिएको इमराल्डका निर्देशक सुरेन्द्र नहिरले बताए ।
औषधि व्यवस्था विभागले भारतमा बनेको कोभ्याक्सिन र कोभिसिल्ड एवम् रसियामा उत्पादित स्पुतनिक भी आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको हो । भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट इन्डिया प्रालिको नेपाल एजेन्ट कम्पनी हुकुम डिस्ट्रिब्युटर्सले पाए पनि कुनै प्रक्रिया अगाडि बढाएका छैन्न । रसियामा उत्पादित स्पुतनिक भी आयात गर्न अनुमति पाएको लोमस फर्मास्युटिकल्सले खोप आयात गर्ने प्रक्रिया अगाडि नबढेको जनाएको छ ।