काठमाडौं, असार ७ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै १४ असारसम्म थप गर्ने निर्णय गर्दै के–के खुल्ने के नखुल्ने भन्नेबारे निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आर्थिक गतिविधि सुचारु गर्नेगरी निषेधाज्ञाको मोडालिटीमा केही फेरबदल गरिएको हो । भोलीबाट हुने निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङपुल, सैलुन, ब्युटीपार्लर, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशाला र मानिसका भिडभाड हुने सबै प्रकारका कार्यक्रममा भने रोक लगाइने पहिलेको निर्णय कायम गरिएको छ ।
खुला स्थानमा मानिसहरू भेला हुन्, सभा, जुलुस, जात्रा, महोत्सवमा लगाइएको निषेध कायम गरिएको छ । फुटपाथमा हुने व्यवसाय पनि सञ्चालन गर्न पाइनेछैन । पुजारीबाट मठमन्दिरमा हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरूमाथिको रोक कायम राखिएको छ ।
विवाह व्रतबन्ध घरबाट मात्रै गर्न पाइनेछ । यसरी घरबाट हुने विवाह व्रतबन्धमा पनि १० जनाभन्दा जम्मा हुन पाइनेछैन । उपत्यकाका तीन जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।