Logo

यी तीन एकजुट भए काँग्रेसमा के होला ?



काठमाडौं, ७ असार । डा. सशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि तीनैजना नेपाली काँग्रेसका संस्थापक नेताहरुका पुत्र हुन् । उमेरले ६ दशक पार गरेका तीनैजना काँग्रेस सभापतिका दाबेदार हुन् । तर, तीनजना नमिलेमा शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सकिदैन भन्नेमा जानकार छन् ।

कोइराला, सिंह र निधिलाई काँग्रेसको नेतृत्व परिवर्तन गर्न नमिली सुखै छैन । तर, मिल्न सजिलो भने छैन । किनकि तीनमध्ये दुईले त्याग नगरी सभापतिमा बलियो उम्मेदवार बन्न कठिन छ ।

देउवाको खेमामा रहेका निधि पछिल्लो समय बिच्किएका छन् । शनिबार देउवाले बुढानिलकण्ठमा आफूनिकटस्थलाई डाकेर फेरि नेतृत्वको दाबी गरेपछि निधि फरक बाटो लाग्न थालेका हुन् । उनकै पहलमा आज बानेश्वरमा कोइराला र सिंहसँग पावर सेयरिङसहित मिलेर जानेबारे छलफल भएको छ । यसले काँग्रेसको राजनीतिमा तरंग आएको छ ।

काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह एकजुट भएमा के होला ? निधि, कोइराला र सिंहसँग काँग्रेसमा लामो संघर्ष गरेका स्वर्गीय पिताहरुको विरासत पनि साथमै छ ।

मधेशमा निधिको बलियो पकड छ । कोइराला पनि लोकप्रीय छन् । सिंह पनि पकड बनाएका नेता हुन् । तीन नेता मिलेमा काँग्रेसको आधा शक्ति बन्ने सम्भावना बलियो छ । अर्कोतर्फ, माहोल पनि उनीहरुकै पक्षमा आउन सक्छ । यसले देउवालाई अप्ठ्यारो पर्न सक्छ ।

काँग्रेसभित्र देउवासँग चिढिएका उनकै खेमाका पनि यी तीन नेताको एकताको आशा गर्न थालेका छन् । पौडेलले गत महाधिवेशनमा सभापतिमा हारेपछि देउवासँग भिड्न हेभिवेट नै चाहिने उक्त समूहभित्र विषय उठ्दै आएको छ ।

तीन नेता मिलेर पावर सेयरिङसहित अगाडि बढेमा काँग्रेसको नेतृत्व परिवर्तन हुने सम्भावना बलियो रहन्छ । तर, तीनैजना मिल्न सजिलो भने छैन ।



प्रतिक्रिया दिनुहोस्