Logo

पूर्वमन्त्री गौचनले गरे राप्रपा अध्यक्षको दाबी



काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री जगत प्रसाद गौचनले नेतृत्वको दाबी गरेका छन् । उनले पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् । सोमबार विज्ञप्तिमार्फत् राप्रपाको विरासतलाई निरन्तर राख्न पुस्तान्तरण आवश्यक रहेको भन्दै नेतृत्वको दाबी गरेका हुन् ।

जसको नीति उसैको नेतृत्वको नारा अघि सार्दै नेतृत्वको भार थाम्न आफू तयार रहेको गौचनले घोषणा गरेका छन् । राजसंस्था र हिन्दुराष्टको लक्ष्य अवसरवाद र सत्ता लोलुपताले अवरोध गरेको उनको निष्कर्ष छ । यसकारण दोस्रो पुस्ताको निष्ठावान, सक्कली पात्रलाई नेतृत्वको जिम्मेवारी दिनु अपरिहार्य भएको गौचनको दावी छ ।

‘राप्रपालाई नयाँ उचाईमा पुर्याउन अग्रसर रहे पनि दोस्रो पुस्ताको अरु कोही इच्छुक भए, पूर्ण सहयोग गर्न तयार रहेको,’ उनले सोमबार एक विज्ञप्तिमा भने, ‘जसको नीति उसैको नेतृत्वलाई व्यवहारमा उतार्न, राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न र राप्रपालाई नयाँ उचाईमा पुर्याउन देशभरीका साथीहरुको सल्लाह र समर्थनमा भार थाम्न म अग्रसर छु । हैन दोस्रो पुस्ताको अरु कोही साथी इच्छुक भए, पूर्ण सहयोग गर्न समेत तयार छु ।’

नेता गौचनले भने, ‘राप्रपाको गौरवमय इतिहास र विरासतलाई निरन्तर राख्न दोस्रो पुस्ताको सार्थक भूमिका जरुरी भएको छ । पार्टीको हर तह र तप्कामा यही माग र बहस जारी छ । समयको मागबाट पछि फर्कने अवस्था छैन ।’

संस्थापक अध्यक्षद्वय सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले २०५९ सालमा सफलतापूर्वक नेतृत्व हस्तान्तरण गरेको उनले दृष्टान्त प्रस्तुत गरे ।

‘पोखरामा सम्पन्न २०५९ सालको महाधिवेशनमा तत्कालीन पहिलो पुस्ता, संस्थापक अध्यक्षद्वय श्रद्धेय सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले तत्कालीन दोस्रो पुस्तामा सफल र सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक अभ्यास र राप्रपाको इतिहासमा त्यो परिपक्व नेतृत्व क्षमता, उदारता सुनौलो अक्षरले लेखिएको छ,’ उनले भने ।

‘राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको अकाट्य लक्ष्य हो । तर अवसरवाद, आत्मसमर्पणवाद र सत्ता लोलुपताका कारण विघ्न बाधा आइपरेको छ । त्यसैले निष्ठावान, सक्कली पात्र र उर्जाशील दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सार्नु अपरिहार्य भएको छ ।’



प्रतिक्रिया दिनुहोस्