काठमाडौं, ८ असार । नेकपा एकता अभियान चलाएका बामदेव गौतम अहिले नेकपा एमाले एक बनाउन सक्रिय छन् । तर, उनी अहिले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नमिल्ने निष्कर्षमा पुगेका छन् ।
विश्वस्त स्रोतका अनुसार गौतमले ओली र नेपाल नमिल्ने अवस्थामा पुगिसकेको भन्दै आफ्नो भावी भूमिका स्पष्ट पार्ने तर्फ लागेका छन् । यद्यपि, उनी एकता अभियान नछाड्ने रणनीतिमा छन् । गौतम पनि आफ्नो राजनीतिक भविष्य बलियो बनाउने गरी प्रस्तुत हुन थालिसकेका छन् । उनले एमालेभित्रै एकता पक्षधरको तेस्रो धार बनाएर बलियो बन्ने तयारी गरेको बुझिएको छ ।
एमालेभित्र ओली र नेपाललाई मिलाउन तेस्रो धार बनाउँदै लगेका गौतमका अलावा विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल नयाँ शक्तिका रुपमा देखिदैछन् । नेम्वाङ ओली खेमाको अर्को शक्तिका रुपमा बढिरहेका छन् । पौडेलको निकटता गौतमसँग पनि छ । उनी एमालेभित्र नेतृत्वको विकल्पका रुपमा देखिन खोज्दैछन् ।
इश्वर पोखरेल ओली खेमाका बलिया नेता हुन् । तर, ओलीका सबैभन्दा विश्वासपात्रहरु उनलाई रुचाइरहेका छैनन् । उनी पनि एमाले विभाजन भएमा बलियो बन्न फरक रणनीति बनाउँदै बढेका छन् ।
एमाले विभाजन भएमा सुरेन्द्र पाण्डे र गोकर्ण नेपाल तिरै लाग्ने सम्भावना देखिएको छ । तर, नेपाल तिर नलागे उनीहरु ओली खेमामै अर्को समूहको नेतृत्व गरेर संघर्ष गर्ने तयारीमा पनि छन् । नेपाल समूहले नयाँ दल खोल्न लाग्दा त्यहाँ कस्तो स्थान मिल्ने हो त्यसले पनि उनीहरुको कित्ताकाट स्पष्ट हुनसक्छ । भीम रावल नेपाल पछि बलियो नेताका रुपमा प्रष्ट देखिएपछि पाण्डे र बिष्ट अलमलमा परेका हुन् ।
योगेश भट्टराईले एमाले र सुर्य चिन्ह नछाड्ने स्पष्ट बताइसकेका छन् । उनी ओली खेमामा लाग्ने सम्भावना कमजोर छ ।
घनश्याम भुसाल, ठाकुर गैरेलगायत नेताहरु विस्तारै गौतमसँग नजिकिएका छन् । उनीहरु नेपालले अर्को दल खोलेमा नलाग्ने पक्षमा देखिएका छन् ।
माधव नेपालले भने नयाँ दल खोल्ने तयारी बढाइसकेका छन् । उनलाई निरन्तर साथ दिने भीम रावल पक्षमा रहने निश्चित छ । सुरेन्द्र पाण्डे पनि रहन सक्छन् । गोकर्ण बिष्टको पनि सम्भावना छ । तर, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य भने ओली खेमामै रहने सम्भावना देखिनथालेको छ ।