काठमाडौं, ८ असार । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै नेतृत्वको दौड सुरू भएको छ । सभापति शेरबहादुर देउवाले पूनः नेतृत्वमा दोहोरिने भन्दै सक्रियता बढाएका छन् । उनले पछिल्ला दुई दिनमा आफूनिकट नेताहरुसँग छुट्टाछुट्टै छलफलसमेत गरेका छन् ।
देउवालाई सुरुदेखि नै सघाउँदै आएका उपसभापति विमलेन्द्र निधिले भने यसपटक साथ दिन नसक्ने बताईसकेका छन् । १३औं महाधिवेशनमा आफूलाई सहयोग गरे १४औं महाधिवेशनमा साथ दिने भनेकोले निधि यसपटक कुनैपनि हालतमा ब्याक नहुने भएका हुन् ।
निधिलाई बोलाएर देउवाले आफूलाई सहयोग गर्न आग्रह गरेको भएपनि देउवाको आग्रहलाई निधिले लत्याईदिएका छन् । उनले उल्टै सभापति देउवालाई आफूलाई सघाउन भनेका थिए । जवाफमा देउवाले सभापति लड्न तपाईँ स्वतन्त्र हुनुहुन्छ भन्दै पछि नहट्ने जवाफ दिएका छन् । त्यसपछि निधिले हिजोमात्रै सभापतिका आकांक्षीहरु शशांक कोइराला र प्रकाशमान सिंहसँग छलफल गरेका थिए ।
उनीहरुबीच नयाँ समिकरण बनाएर जानेबारे छलफल भएको बुझिएको छ । कोइराला र सिंहसँगको भेटवार्तालगत्तै निधिले संस्थापनईतरका युवा नेताहरुसँग पनि छलफल गरेका थिए । बत्तिसपुतलीसडकस्थित् अनुपम फूडल्याण्डमा युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, बद्री पाण्डे र सरिता प्रसाईलगायतसँग निधिले छलफल गरेका थिए । निधिले आफू सभापतिमा उठ्ने निर्णय गरिसकेकोले अब ब्याक नहुने सन्देश बुढानिलकण्ठलाई दिईसकेका छन् । निधिको तयारीबाट देउवा संशकित छन् ।
प्रदेश नम्बर १, २ र बाग्मती प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुसँगको छलफलमा देउवाले आफू एकपटक नेतृत्वमा पूनः आउन चाहेको भन्दै सघाउन आग्रह गरेका थिए । उनीहरुले पनि निधिलगायतका नेताहरुलाई मिलाउन सुझाव दिएका थिए । निधिले साथ छोडेपनि अब सभापति उठ्नका लागि निधि पछि नहट्ने भएका छन् ।
उनले आफूनिकट नेताहरुसँग यो कुरा प्रष्ट पारिसकेका छन् । तर, निधिसहित सबै पक्षसँग छलफल गर्न र आफ्नो पक्षमा माहोल बनाउनको लागि देउवाले वार्ता टोलीसमेत बनाएका छन् । देउवाको पक्षमा माहोल बनाउनको लागि यतिवेला रमेश लेखक, विजय गच्छदार, पूर्णबहादुर खड्का र ज्ञानेन्द्र बहादुर कार्की छन् । file photo