Logo

सङ्गीत र सेक्सको सम्बन्ध !



दशकौं पहिले ग्र्याजुएसनको तेस्रो वर्ष साथीको कोठामा थिए, साइके लुई । अचानक रेडियोमा रुसी सङ्गीतज्ञ सर्गेई रखम्यानिनोभको पियानो कन्सर्ट नम्बर टु बज्न थाल्यो र मन्त्रमुग्ध भए । उनको ढाडको हड्डीमा कम्पन महसुस भयो । मुटुको धड्कन तीव्र भयो ।

नम्बर टु सुन्दा आज पनि लुईलाई त्यस्तै अनुभूति हुन्छ । उनी आफैं पनि पियानो तथा भायोलिन बजाउँछन् ।कहिलेकाहीं सङ्गीतको महसुस कति सघन हुन्छ भने त्यसले कामोत्तेजना नै निम्त्याउँछ । सङ्गीतको मधुर धुनमा त्यस्तो के छ, जसले शरीर तथा मस्तिष्कको उत्तेजनालाई त्यो चरम हदसम्म लैजान्छ, जुन अनुभूति केवल मैथुनको बेला हुन्छ ?

भेसलेएन युनिभर्सिटीका मनोचिकित्सकसमेत रहेका लुईले आफ्ना छात्र ल्युक ह्यारिसनसँग मिलेर गरेको अध्ययनमा यस विषयमा गहिरो व्याख्या गरिएको छ । लुई तथा ह्यारिसनले यस्तो संवेदनाहरुलाई ‘असाधारण’ भनेका छन् ।

सन् १९९१ मा पनि पेसेवर सङ्गीतकार तथा गैरसङ्गीतकारहरुमा गरिएको सर्वेक्षण सहभागी आधाजसो मानिसले भनेका थिए- ‘मनपर्ने गीत सुनेपछि शरीरमा कम्पन छुट्छ, पसिना आउँछ र कामोत्तेजनाजस्तो महसुस हुन्छ ।’ त्यस्तो अनुभूतिलाई वैज्ञानिकहरुले ‘छालाको कामोत्तेजना’ को संज्ञा दिए ।

भारतीय तथा पाकिस्तानी सुफी सङ्गीतमा पनि एकाग्र चित्त बनाएर तल्लीन हुँदा हुने अनुभूतिलाई कामवासनाको अनुभूतिसँग जोडेर हेरिएको छ । लुई तथा ह्यारिसनले यस्तो अनुभूतिलाई ‘फिस्सन’ नामकरण गरेका छन् । यसको अर्थ हो, रोमाञ्चभन्दा बढी तथा उत्तेजनाको नजिक ।

सामान्य सङ्गीत सुन्दा यस्तो प्रकारको कुनै भाव पैदा नहुन पनि सक्छ । तर परिचित-अपरिचित सङ्गीतको बीचको रेखालाई छुँदा भने फिस्सन जरुर पैदा हुन्छ । लुईका अनुसार यो भाव तब उत्पन्न हुन्छ, जब सङ्गीत एक खास विन्दुमा पुग्छ । ड्रग्सको सेवन वा सेक्सको बेला पनि यस्तै अनुभूति पैदा हुन्छ ।

यस क्रममा शरीरमा डोपामाइन हर्मोनको प्रवाह पनि बढ्दछ । यो हर्मोनको मात्रा ड्रग्स लिएपछि वा सेक्स गरेपछि पनि शरीरमा  बढ्ने गरेको पाइन्छ । यही हर्मोनकै कारण कहिलेकाहीं सङ्गीत हाम्रा लागि परमानन्दको कारण बन्ने निष्कर्ष एटेन्र्फड युनिभर्सिटीका शोधकर्ता एभरम गोल्डस्टिनको छ ।

लुईका अनुसार सङ्गीत मानव मन तथा समाजमा बदलाव ल्याउने महत्त्वपूर्ण माध्यम हो । सङ्गीतले मानिसको मस्तिष्कलाई प्रशिक्षित गर्ने र अनुभवको विस्तार गर्छ । साथै यसले भावनात्मक जागरुकता बढाउने र एक अर्कामा भावनात्मक संवादको प्रक्रियालाई पनि प्रभावकारी बनाउँछ ।

सङ्गीतबाट पैदा हुने कामोत्तेजना धेरै कोकिन सेवन गर्ने, हस्तमैथुन गर्ने तथा पोनोग्राफी हेर्दै गर्दा प्राप्त हुने अनुभूति जस्तै हुन्छ । यद्यपि सङ्गीत श्रवण गर्नसक्ने क्षमता, सामाजिक सोँचको दायरा तथा भावनात्मक सुझबुझ जति बढी हुन्छ उति नै सङ्गीतले व्यक्तिलाई कामोत्तेजनासम्म पुर्याउने सम्भावना उच्च हुने लुईको ठहर छ । उनी भन्छन्, ‘रखम्यानिनोभको पियानो बजिरहेका बेला सेक्स वा ड्रग्सको आवश्यकता कसलाई होला ?’

एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्

Screenshot