Logo

जनकपुरस्थित गुठीको जग्गा कब्जा गर्न खोजिएको भन्दै उजुरी



धनुषा १० असार : जनकपुरधाम उपमहानगर–२३ बेलाकुटीस्थित गुठीको जग्गा राजनीतिक पहुँचमा आधारमा कब्जा गर्न खोजिएको भन्दै ५० जना स्थानीयले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । श्रीरामजानकी दुल्हा दुल्हिन मन्दिरको जग्गा धर्मशाला बनाउने नाममा कब्जा गर्न लागिएको उनीहरूको आरोप छ ।

जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीको अगुवाइमा गुठीको जग्गामा संरचना निर्माण गर्न लागिएको उजुरीकर्ता रोहित ठाकुरले बताए । उनका अनुसार जनकपुर बसपार्कनजिकै बेला कट्टीको जग्गामा सांसद विकास कोषको रकमबाट धर्मशाला बनाउन लागिएको हो ।

‘गुठीको जग्गामा स्थानीयलाई खबरै नगरी सरकारको बजेट खर्चेर धर्मशाला बनाइँदै छ,’ उनले भने, ‘बजेट खर्च भए पनि निर्माणस्थलमा योजनाको बोर्ड छैन ।’ अहिले प्रदेश २ को सामाजिक विकास मन्त्रालयको २० लाख बजेटमा पर्खाल लगाउने भइरहेको छ । यसको नेतृत्व जसपा सांसद राजेन्द्र महतोनिकट रहेका संघ अध्यक्ष चौधरीले गरिरहेका छन् । धर्मशाला निर्माण समितिको अध्यक्ष सुनील मिश्रलाई बनाइएको छ । धर्मशाला बनाउन धनुषा ३ बाट निर्वाचित सांसद महतोको सांसद विकास कोषको बजेट आउने क्रममा रहेको चौधरीले बताए । ‘नागरिक समाज र स्थानीयले धर्मशाला बनाउन लागेका हुन्,’ उनले भने । उनले जग्गाका लागि गुठीसँग पाँच वर्षको सम्झौता भएको र पछि थपिँदै जाने बताए ।

स्थानीयले प्रशासनमा उजुरी दिए पनि निर्माणको काम रोकिएको छैन । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाका अनुसार उक्त जग्गामा धर्मशाला बनाउन जनकपुरधाम उपमहानगरपालिका र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि बजेट छुट्टयाएका छन् । स्थानीयको उजुरीबारे जानकारी गराउँदा गुठी कार्यालय जनकपुरले ५ वर्षका लागि सं‌घलाई जग्गा लिजमा दिएको भनी पत्र पठाएको बास्तोलाले बताए ।

गुठी कार्यालय जनकपुरका प्रमुख वैकुण्ठ रेग्मी भने जग्गाको ठेक्काका लागि प्रक्रिया अगाडि बढाए पनि सम्झौता नहुँदै संघ अध्यक्ष चौधरीले कब्जा गरी धर्मशाला निर्माण गरेको बताए । ‘बेला कुटीको ७ कट्ठा जग्गा ५ वर्षका लागि ठेक्का लगाउन बोलपत्र आह्वान गरिए पनि ठेक्का नलाग्दै मनोज चौधरीले जबर्जस्ती धर्मशाला बनाउन गुठीको जग्गामा पर्खाल लगाए,’ उनले भने, ‘कोरोनाका कारण कार्यालयमा कर्मचारी नभएको मौका छोपेर गुठीको जग्गामा निर्माण कार्य भइरहेको छ ।’स्थानीय भने चौधरीलाई जग्गा कब्जा गर्न गुठीप्रमुख रेग्मीले नै सघाएको आरोप लगाउँछन् ।



प्रतिक्रिया दिनुहोस्