बाजुरा, असार ११ । हिमाली गाउँपालिका–१ वामकी पुष्पकला रोकाया उमेरले १५ की भइन् । उनले पिठ्युँमा दुधे बालक बोकेकी छिन् । झट्ट हेर्दा उनी कुनै अर्कैको बच्चा डुलाउँदै गरेकीजस्तो देखिन्थिन् । हिन्दुु परम्पराअनुसार बिहेवारी नगरी महिलाको सिउँदोमा सिन्दुर विरलैको देखिन्छ । तर, पुष्पकलाको विवाहको पहिचान त्यही सिउँदाको सिन्दुर र पिठ्युँको तोते बालकले दिएको छ ।
‘बहिनी यो बच्चा तिम्रै हो ?’, पुुष्पकलाले प्रश्नको सटिक जवाफ दिइन्– ‘अरूको भए बोक्दी हुँ ?’ ‘मेरो उमेर १५ वर्ष भयो, १३ वर्षमै छुई (मिन्स) भएँ, सात कक्षा पढ्दै थियौं गाउँकै इष्टमित्रको केटासँग फोनमा कुराकानी हुँदा लभ प¥यो बिहे भयो’ –उनले भनिन् ।‘पढ्ने लेख्ने उमेरमा नै आमा बन्नुभएछ, पश्चाताप छैन?’ भन्ने प्रश्नमा उनले पश्चाताप मानेर के गर्नु र हाम्रो गाउँको चलन नै यस्तै छ भनिन् । ‘मैले मात्र हो र सानो उमेरमा बिहे गरेको? गाउँमा प्रायः सबैको १५÷१६ वर्षको उमेर विवाह भइसक्छ’ –उनले थपिन् ।
त्यसै गरी विछ्याँकी देवकन्या भण्डारी पनि १८ वर्ष पुगेकी छैनन्, पेटमा अर्को गर्भ छ । उनले पिठ्युँमा करिब एक वर्षको बच्चा बोकेकी छिन् । बालविवाह त्यसमा पनि अपरिपक्क उमेरमा वर्षेनी बच्चा पाउनुको कम्ती सास्ती छैन उनलाई । ‘वाममा ५६ घरपरिवार छन्, यहाँ कसैका पनि छाउगोठ छैनन् महिला घरकै कोठामा बस्छन् । तर, वालविवाह त घरघरमा छन्’ –स्थानीय सुुरलाल रोकायाले भन्नुभयो । यहाँ १५ वर्ष नपुुग्दै विवाह गरिहाल्ने चलन छ । मागी विवाहभन्दा भागी विवाह बढी हुने रोकायाको कथन छ ।
‘मलाई बिहे गरेको याद छैन, हामी गर्भमै हुँदा बुवाले ज्वाइँ खोज्ने परम्परा छ । १०÷१२ वर्षको उमेरमै बिहे गरिदिन्छन् । कतिखेर पढ्ने लेख्ने फोन नम्बर सेभ गर्न पनि अरूलाई गुहार्नुपर्छ’, लम्पाटाकी ३२ वर्षीया लक्ष्मी गुुरुङले दुःखेसो गरिन्– ‘सानो उमेरमा बा–आमाले बिहे गरी दिए । २५ वर्षको उमेरमा पाँच बच्चा पाएँ । आजकाल आङ खस्ने पेट दुख्ने समस्याले थला परेकी छुु ।
’यी त बाजुराको एक गाउँका प्रतिनिधिमूलक घटना मात्र हुन् । बाजुराका गाउँगाउँमा यस्ता सयौं उदाहरण छन् । बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काका अनुसार बडिमालिकामा यो वर्ष मात्र चार सय ४९ महिलाले गर्भ जाँच गराएका छन्, जसमा एक सय ६२ महिला २० वर्षमुनिका छन् ।बडिमालिका नगरपालिका महिला विकास शाखा प्रमुख केशरी रोकाया भने बालविवाह हुनमा थुप्रै कारण भएको बताउन्छन् ।
तीमध्ये बढ्दो सञ्चार र सामाजिक सञ्जाल फेसबुकको दुुरुपयोग, उमेर नपुुग्दै भागेर विवाह गर्ने चलनका कारण जिल्लामा दिनप्रतिदिन बालविवाह बढेका छन् । नेपाल समाचारपत्र दैनिकबाट