काठमाडौं, असार ११ । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ । सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए ।
अनुपस्थित भएकामध्ये आधाभन्दा बढी काठमाडौंमै बसेर बैठकमा गएनन् । कोहीले काठमाडौंबाहिर भएको कारण देखाउँदै बैठकमा जान नसकेको बताए। जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद छन् । यादव पक्षका ५ जना सांसदहरू वीमल श्रीवास्तव, उमाशंकर अरगरैया, रुही नाथ, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरूङ कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको हो । गत बिहीबार ठाकुर पक्षले बोलाएको बैठकमा राजकिशोर यादव, विमल श्रीवास्तव, प्रमोद साह, नरमाया ढकाल, रुही नाथ, दुलारी देवी खतवे, अमृता अग्रहरी, रानी मण्डललगायतका सांसद अनुपस्थित भए।
अघिल्लो दिन ठाकुरले संसदीय दलको बैठक बोलाएको जानकारी सबैलाई गराएका थिए । प्रतिनिधिसभा नै विघटन भए पछि विघटित भएको संसदीय दलको बैठकमा आफू नगएको प्रमोद साहले बताए । ‘संसद विघटन भइसकेको छ । विघटित भएको बैठकमा किन जाने रु,’ उनको प्रश्न छ । पछिल्लो समय साह ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन् । बैठकमा नगएका श्रीवास्तवले आफू विशेष कारणवश बैठकमा जान नसकेको बताए । बिहीबार उनी काठमाडौंमै थिए। नागरिक दैनिकबाट