काठमाडौं, ११ असार । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरुले अहिले सिंहदरबार घेराऊ गर्दै छन् । उनीहरुले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराऊ गरी संयुक्त रुपमा राजीनामा बुझाउने तयारी गरेका हुन् ।
इञ्जिनियरहरुले सिंहदरबार घेराऊ गर्ने भएपछि व्यापक प्रहरी परिचालन गरिएको छ । सिंहदरबारको चारैतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य संख्यामा तैनाथ भएका छन् ।
हिजो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले ३ हजार बढी प्राविधिकहरुले सिंहदरबार घेराऊ गरी राजीनामा बुझाउने जानकारी दिएका थिए । समितिका अध्यक्ष अविनाश अमरले सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै राजीनामा दिन वाध्य भएको बताएका थिए ।
३२ जिल्ला अन्तर्गतका सम्पुर्ण प्राविधिकहरुको राजिनामा केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा दिने भएका हुन् । अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरुले एकमुस्ट राजिनामा उद्घोष गरेपछि मात्र सम्पुर्ण माग पुरा भएको स्मरण गर्दै फेरी पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको बताए । उनले भने, ‘नेपालको प्राविधिक इतिहासकै सबैभन्दा ठुलो सफल आन्दोलन गरिसकेको समुहलाई पुनः आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको छ ।’ अमरले महामारीको समयमा प्राविधिकहरुलाई पुगेको क्षतिको विवरण र क्षतिपुर्तिको सरकारसँग माग गरेका छन् ।