काठमाडौं, असार १२ । दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या अत्यधिक रहेको पाइएको हो ।
२९ जेठमा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २ सातामा ३८ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि हुँदा ५५ हजार ५ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा संक्रमित निको हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४ सय १३ जना संक्रमित निको भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७६ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९ सय ४५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलका अनुसार लक्षण देखिएर परीक्षण गराउनेको संख्यामा कमी आएको छ । राजधानी दैनिकबाट