चितवन, असार १२ । चितवनमा निषेधाज्ञा लागू भएको जेठ महीनासम्ममा दुग्ध कारोबारमा ११ करोड रुपैयाँभन्दा बढी नोक्सान प्रक्षेपण गरिएको छ ।
चितवन दुग्ध उत्पादक सहकारी संघद्वारा शुक्रवार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गत वैशाख १७ गतेदेखि जेठ मसान्तसम्म ११ करोड ७ लाख ८१ हजार ३४२ रुपैयाँ नोक्सान भएको जानकारी दिएको हो ।
सो अवसरमा संघका सचिव किशोर वगालेले सो अवधिमा मात्रै किसानको २० लाख ९० हजार २१४ लिटर दूध बजारमा नजाँदा उक्त रकम बराबरको नोक्सान भएको बताए ।
उनका अनुसार संघमा ११० ओटा सहकारी आवद्ध भएको मध्ये डेढ महीनाको अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध बजार जानु पर्नेमा ५७ लाख ६ हजार ३६ हजार लिटर दूध मात्र बजार पुगेको हो ।
निषेधाज्ञा लगत्तै देशका सबै बजार, होटल,चिया खाजा पसल बन्द भएर दुग्ध डेरी उद्योगले खरीद घटाउँदा नोक्सान पुगेको उनको भनाइ छ । कतिपय किसानले दुग्ध उद्योगहरुमा विक्री नभएको दूधलाई पाउडर र मख्खन बनाउन दिएपनि फेरी उद्योगहरुले विक्री गर्न नसकेको भन्दै सहकारीलाई फिर्ता गरेको उनले बताए ।
पाउडर र मख्खन बनाउँदा थप कति नोक्सान भयो र कति मौज्दात छ भन्ने तथ्यांक आइनपुगेको र तथ्यांक संकलनको काम भइरहेको पनि संघले बताएको छ ।
प्रतिलिटर किसानको दूध लागत ४५ रुपैयाँसम्म पर्दछ तर डीडीसीले किसानलाई दिने दूधको मूल्य नघटाएपनि अन्य नीजि दुग्ध उद्योगहरुले प्रतिलिटर ४० रुपैयाँ पनि दूध खरीद नगरेको दुग्ध उत्पादक किसानको गुनासो छ । देशभर कुल उत्पादनको ४५ प्रतिशत डीडीसीले र बाँकी निजी दुग्ध डेरीले दूध खरीद गर्ने गर्दछन् । आर्थिक अभियान दैनिकबाट