Logo

झापामा बढ्यो कांग्रेसको चुनावी सरगर्मी



—चन्द्रकला भण्डारी झापा, ११ असार: नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा झापामा सो पार्टीको चुनावी सरगर्मी बढेको छ ।

चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । पार्टीका जिल्ला उपसभापति राम कट्टेलले आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँ कांग्रेस झापाको कोषाध्यक्ष हुँदै उपसभापति पदमा बसेर काम गरिसक्नुभएको छ । पार्टीमा लामो अनुभव प्राप्त गरिसक्नुभएका उहाँ पुराना कांग्रेसी नेताका रुपमा परिचित हुनुहुन्छ ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माले झापामा कार्यकर्तासँग भेटघाट र बैठकलाई तीव्रता दिइरहनुभएको छ । उहाँहरुको सक्रियता पार्टीको केन्द्रीय महाधिवेशन तथा प्रदेश, जिल्ला र स्थानीय तहका अधिवेशनतर्फ केन्द्रीत रहेको छ । कोरोना महामारीका कारण पार्टीको जिल्ला समितिले नेताद्वय सिटौला र शर्मालाई सहभागी गराएर भर्चुअल बैठक पटकपटक सञ्चालन गरिसकेको छ । बैठकमा महामारीले सिर्जना गरेको अप्ठेराका बीच कसरी महाधिवेशन र अधिवेशन गर्ने भन्ने विषयमा छलफल हुने गरेको छ ।

करिब ३४ हजार क्रियाशील सदस्य रहेको झापामा पार्टीका जिल्ला सभापति उद्घव थापाले आफू दुई कार्यकाल सभापति बनिसकेको हुँदा अब तेस्रो पटक उम्मेदवार नबन्ने बताउँदै आउनुभएको छ । उहाँले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान ओगट्ने झापामा कांग्रेसको नयाँ नेतृत्व आउने बताउनुभयो । उहाँले भन्नुभयो–“अब नयाँ साथीहरु नेतृत्वमा आउनुहुन्छ ।”

पार्टीका उपसभापति राम कट्टेलबाहेक अरुले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छैन । तर, पार्टीका पूर्वउपसभापति देउमान थेबे, पूर्वसचिव भगिरथ पोद्धार, सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे र प्रचार विभाग प्रमुख लोकराज ढकाल पनि सभापतिको आकांक्षी हुनुहुन्छ । पूर्व उपसभापति थेबेले क्रियाशील सदस्यको टुङ्गो लागिसकेपछि उम्मेदवारीका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार झापामा पार्टीको जिल्ला अधिवेशन आगामी साउन २६ गते हुनुपर्नेछ ।

कोभिड—१९ को महामारी नियन्त्रण नभइसकेको हुँदा कुन प्रक्रियाबाट जिल्ला अधिवेशन गर्ने भन्ने विषयमा छलफल चलिरहेको सभापति थापाले जानकारी दिनुभयो । उहाँले प्रत्यक्ष रुपमा भौतिक उपस्थितिभन्दा पनि प्रविधिको प्रयोग गर्दै अधिवेशन गर्ने कि भनेर विकल्पको खोजी भइरहेको जानकारी दिनुभयो । “परम्परागत ढङ्गले अधिवेशन हुने सम्भावना छैन, विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौं”, उहाँले भन्नुभयो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्