दोलखा, असार १३ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । असार १३ गतेदेखि आयोजनाको दोलखा तथा रामेछापमा निर्मित मल्टी सर्किट टावरमा तार तान्ने काम शुरू हुने भएसँगै प्रसारण लाइन व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको हो ।
आइतवारदेखि दोलखा तथा रामेछापमा रहेका मल्टी सर्किट टावरमा तार तान्ने काम शुरू हुने आयोजनाका प्रवक्ता डा। गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।
मल्टी सर्किट टावरमा तार तान्ने काम सम्पन्न भएपछि माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रवक्ता न्यौपानेको भनाइ छ । लामो समय जग्गा विवादका कारण मल्टी सर्किट टावरमा तार तान्ने काम सम्पन्न हुन सकेको थिएन ।
मल्टिसर्किट टावरमा तार तान्ने क्रममा असार १३ गतेदेखि १९ गतेसम्म खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने नेपाल विद्युत् प्राधिकरण प्रणाली विभागले बताएको छ । यस क्रममा ६० मेगावाटको किर्नेटार रहेको विद्युत् गृहबाट उत्पादित विद्युत् प्रसारण लाइनमा पठाउन बन्द हुने भएको छ ।
मल्टी सर्किट टावरमा तार तानिएसँगै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनको काम पूरा हुने बताइएको छ । आयोजनाका अनुसार रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको काम पनि अन्तिम चरणमा पुगेको छ । आर्थिक अभियान दैनिकबाट