Logo

लिक्विड अक्सिजन प्लान्टमा ५० करोडसम्म पुनर्कर्जा दिने नीति कार्यान्वयनमा



काठमाडौं, असार १३ । नेपाल राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लान्ट स्थापनामा प्रतिग्राहक ५० करोड रुपैयाँसम्म पुनर्कर्जा सुविधा दिने नीति कार्यान्वयनमा ल्याएको छ ।

केन्द्रीय बैंकले शुक्रवार ‘पुनर्कर्जा कार्यविधि–२०७७’ दोस्रो संशोधन गर्दै स्वास्थ्य सेवाप्रदायक संस्था, अस्पताल वा उद्योगहरूलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी रू। ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न यस्तो व्यवस्था गरेको हो ।

विशेष पुनर्कर्जाअन्तर्गतको उक्त सुविधामा केन्द्रीय बैंकले १ प्रतिशत ब्याजदर मात्रै लिनेछ भने बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक ऋणीबाट ३ प्रतिशत ब्याजदर मात्रै लिनुपर्ने व्यवस्था छ । ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको सीमा रू। २० करोडसम्मलाई निरन्तरता दिइएको छ । ग्राहकअनुसार प्रदान गरिने पुर्नकर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतसम्म हुनुपर्ने व्यवस्था कार्यविधिले तोकेको छ ।

बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा रू। ५ करोड रहेको छ । कार्यविधिअनुसार यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।

केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकाल मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षासँगै गरेको यो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको बताउँछन् । विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मौद्रिक नीतिको संशोधनले गरेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्