Logo

भाटभटेनीले बनाउँदै भर्टिकल स्मार्ट पार्किङ



काठमाडौं, असार १३। भाटभटेनीले निजी प्रयोजनका लागि काठमाडौंमा बहुतले (भर्टिकल) स्मार्ट पार्किङ निर्माणको काम अघि बढाएको छ । वैशाखदेखि काम शुरू गरेको भाटभटेनीले हालसम्म ५० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको बताएको छ ।

भाटभटेनीको नक्सालस्थित मुख्य सुपरमार्केट परिसरमा बहुतले भर्टिकल पार्किङको काम निषेधाज्ञाकै बीच धमाधाम भइरहेको हो । आधाभन्दा बढी सम्पन्न भइसकेको उक्त स्मार्ट पार्किङ सञ्चालनमा आउन भने अझै २ महीना लाग्ने चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले जानकारी दिए ।

अघिल्लो वर्ष वैशाख पहिलो साता भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भर्टिकल पार्किङको शिलान्यास गरेका थिए । त्यति बेलै सामान आइसके तापनि बन्दाबन्दीका कारण काम अघि बढ्न सकेको थिएन ।

कम्पनीले उक्त पार्किङ निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मेवारी दिएको थियो । तर कोरोना कहरका कारण कम्पनीका प्राविधिकहरू नेपाल आउन सकेका थिएनन् । पछि भारतमा रहेको उक्त कम्पनीका प्राविधिक आएर काम अघि बढाएको सीओओ पौडेलले बताए ।

करीब २ करोड लगानीमा दुईओटा टावरमा निर्माण हुने भर्टिकल पार्किङमा ४४ ओटा कम्प्याक्ट सवारीसाधन पार्किङ गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot