Logo

‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’



काठमाडौं, असार १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूले मुलुकमा लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरेको प्रष्टीकरण दिएका छन्। उनीहरूले गठबन्धनप्रति शंका–उपशंका नगर्न पनि आग्रह गरेका छन्।

राजधानीमा शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा० का नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टले आफूहरूको गठबन्धन लोकतन्त्र र संविधान रक्षाका लागि भएको प्रष्टीकरण दिएका हुन्।

सञ्चारकर्मीसँग करिब ३ घण्टाभन्दा बढी समय बिताएका उनीहरूले सर्वोच्च अदालत संविधानको व्याख्या गर्ने थलो भएकाले त्यहाँबाट आउने निर्णय लोकतन्त्र र संविधानको रक्षाकै पक्षमा हुने विश्वास व्यक्त गरे। उनीहरूको आसय सर्वोच्चबाट प्रतिनिधिसभा पुनस्र्थापना मात्र होइन, कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन पनि आदेश हुने थियो। कांग्रेस सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गर्दै संविधान र लोकतन्त्र रक्षाका लागि आफूहरू एकठाउँमा उभिएको बताए।

उनले आफूलाई १४९ जना सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले त्यसलाई ‘क्रस चेक’ नगरेको बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो। यसबाट मलाई दुःख लाग्यो। सांसदहरूको हस्ताक्षर क्रस चेक गर्न सक्नु हुन्थ्यो राष्ट्रपतिले। चाहे क्रस चेक गर्न सकिने अवस्था जहाँ पनि छ तर उहाँले क्रस चेक नै गर्न चाहनु भएन’, देउवाले भने।

उनले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन पनि आदेश हुने विश्वास व्यक्त गरे। ‘अदालतले प्रधानमन्त्री बनाओस् भन्ने चाहना होइन, संविधानको व्याख्या गर्ने सर्वोच्च अदालत हो भनेर हामीले भनेका छौं। राष्ट्रपतिले को–कता छ भनेर सोध्नुपर्ने हो तर त्यसो नगरी प्रतिनिधिसभा नै विघटन गरिदिनुभयो’, उनले भने।

देउवाले प्रधानमन्त्री ओली लोकतन्त्रवादी नभएको आरोपसमेत लगाए। ‘ओली संविधानवादी, लोकतन्त्रवादी केही होइनन्, उनी मनपरी गर्ने अधिनायकवादी हुन्, संविधानमा लेखेको राष्ट्रपतिले नमानेपछि हामी अदालत गएका हौं। संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने हो’, देउवाले भने। देउवाले माओवादी अध्यक्ष दाहाल र एमाले वरिष्ठ नेता नेपाल बलिया सारथि रहेको संकेत गरे। उनले नेपालजी लडाकु मित्र हो भन्दै धोका नहुने विश्वास व्यक्त गरे। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्