काठमाडौं, असार १३ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीले बहस गर्दै छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिटमा बाँकी निवेदक पक्षका कानुन व्यवसायीले आज बहस गर्न लागेका हुन् । रिट निवेदकतर्फका कानुन व्यवसायीहरूलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ ।
शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नुभएको थियो ।
संवैधानिक इजलासमार्फत भइरहेको सुरुवाती बहसमा रिट निवेदकतर्फका कानुन व्यवसायीको पालो सकिएपछि विपक्षी अर्थात सरकारतर्फका कानुन व्यवसायीहरूले सुरुवाती बहस गर्नेछन् ।