Logo

माधव नेपाललाई कहाँबाट आयो प्रधानमन्त्रीको अफर ?



काठमाडौं, १३ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शनिबार पत्रकारसँगको अन्र्तक्रियामा आफूलाई प्रधानमन्त्रीको अफर आएको बताए । उनले कोबाट अफर आयो भन्ने खुलाएनन् ।

२५ जेठमा रिपोर्टर्स नेपालले माधव नेपाललाई प्रधानमन्त्री बनाउने सम्मको अस्त्र तयार शिर्षकमा खबर छापेको थियो । एमाले एकता जोगाउन नेपाललाई प्रधानमन्त्री बनाएर भएपनि मिलाउने प्रयास भएको खुलाएको थियो । यसलाई नेपालको शनिबारको भनाईले पुष्टि गरेको छ ।

माधव नेपाललाई आन्तरिक या बाह्य शक्तिबाट प्रधानमन्त्री बन्न सहयोग गर्ने अफर आएको हो ? यो चासोको विषय हुनसक्छ ।

एमाले एकता बचाउन र शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट रोक्न एउटा पक्षले माधव नेपाललाई नै बढाउनुपर्नेमा जोड दिदै आएको थियो । एमालेभित्रैको मध्यमार्गीहरुले नेपाललाई प्रधानमन्त्री बनाएर सहमति निकाल्न समेत खोजेका थिए । तर, माधव नेपाललै त्यो आश्वासनलाई पत्याएनन् । उनले ओलीको प्रधानमन्त्रीबाट बर्हिगमनलाई मुख्य उद्देश्य बनाएका छन् । उनले कुनैपनि अफरलाई स्वीकारेका छैनन् । देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने मुख्य नेता नै नेपाल थिए । उनले देउवालाई कुनै हालतमा धोका नदिने र बोलेको पूरा गरिछाड्ने दृढता व्यक्त गरेका छन् ।

माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउनुमा २३ सांसद समेतले प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेबारे दायर रिट झिक्ने शर्तमा पनि भएको बुझिएको छ । नेपालले भने ओलीको राजीनामा, प्रतिनिधि सभा विघटनको सिफारिश फिर्ता र २ जेठ २०७५ को अवस्थामा एमालेको सांगठनिक संरचना कायम राखिनुपर्ने शर्त राख्न थालेका छन् । ओलीले ६ बुँदे एकता प्रस्ताव सारे । तर, माधव नेपाल पक्षले त्यसलाई नमान्ने र जालझेलपूर्ण शैलीको संज्ञा दियो । आक्रामक शैलीमा बढे ।

एमाले एकताका लागि राष्ट्रपति विद्यादेवी भण्डारी देखि बामदेव गौतम समेत सक्रिय भए । माधव नेपाललाई प्रधानमन्त्री बनाएर जानेबारे पनि छलफल बढाएको बुझिएको छ । नेपाललाई प्रधानमन्त्री बनाउन ओली तयार भएमा एमाले फुटबाट जोगिने र माओवादी केन्द्र पनि एमालेसँग नजिकिने अवस्था बन्नेमा शितलनिवास देखि बामदेव निवास भैंसेपाटीमा छलफल चलेको थियो । नेपाललाई एकताका लागि सक्रिय यीनै पक्षबाट पनि अफर गएको हुनसक्ने बुझिएको छ ।

बाह्य शक्तिले पनि नेपाललाई विभिन्न शर्तमा प्रधानमन्त्री अफर गरेको हुनसक्ने अनुमानहरु गरिएको छ । ती शर्तहरु उनका लागि अप्रीय खालका पनि हुनसक्छन् । जे होस् नेपालले यसपटक आफू बोलीको पक्का भएको प्रमाणित गर्न खोजेका छन् । कुनै हालतमा देउवालाई धोका नदिने अडान सुनाइसकेका छन् । कुनैपनि प्रकारका प्रधानमन्त्रीका अफर आउँदैमा देउवासँगको साथ नछाड्ने दृढता व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot