काठमाडौं, १३ असार । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरसको जोखिम र निषेधाज्ञाले पारेको जोखिम नियन्त्रणको सकारात्मक प्रभावको समिक्षा गरेका छन् । उनीहरुले निषेधाज्ञा खुकुलो बनाउँदै लाने गरी मोडालिटी समेत तयार गरेका छन् ।
८ असारबाट निषेधाज्ञा खुकुलो पारी निजी सवारी र ट्याक्सीमा जोर बिजोर प्रणाली लागू गरिएकोमा यात्रु बोक्ने सार्वजनिक यातायातमा पनि सुरुवात गरिने भएको छ । भोलि सोमबार विहानै यसबारे सूचना जारी गरिने भएको छ । तीनवटै जिल्लाको जिल्ला प्रशासन कार्यालयले विहान १० बजे सूचना जारी गर्ने बुझिएको छ ।
सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने भएको हो । सरकारले विद्यालयहरु भने अझै बन्द गराउने भएको छ ।