कञ्चनपुर, असार १४। सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो ।
सिँचाइका लागि भरपर्दो व्यवस्था हुन थालेपछि किसानले रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । विगतमा आकाशे पानीको भरमा रोपाइँ हुँदै आएको थियो ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कैलालीमा ३८ हजार ७८६ (५५ प्रतिशत)), कञ्चनपुरमा १६ हजार ९६६ (३५ प्रतिशत), अछाममा सात हजार ४६५ दशमलव पाँच (४५ प्रतिशत), बाजुरामा तीन हजार ९४६ (५५ प्रतिशत), बझाङमा पाँच हजार ७१६ दशमलव आठ (४५ प्रतिशत) र बैतडीमा चार हजार ५० (४५ प्रतिशत) हेक्टरमा रोपाइँ सकिएको छ ।
यसैगरी दार्चुलामा २२४ (६२ प्रतिशत), डडेल्धुरामा तीन हजार ७१२ दशमलव आठ (६० प्रतिशत), डोटीमा चार हजार ५०० (४२ प्रतिशत) गरी ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टरमा रोपाइँ सकिएको छ । कैलालीमा ७० हजार ५२०, कञ्चनपुरमा ४८ हजार ४७५, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १५०, बझाङमा १२ हजार ७०४, बैतडीमा नौ हजार र दार्चुलामा चार हजार ४८० हेक्टरमा धान खेती हुने गरेको छ ।
यसैगरी डडेल्धुरामा छ हजार १८८ र डोटीमा १० हजार ७१५ हेक्टर गरी एक लाख ८५ हजार ८४७ हेक्टरमा धान खेती हुने गरेको छ । प्रदेशमा धानको औषत वार्षिक उत्पादन छ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । धानको प्रति हेक्टर उत्पाकत्व ३ दशमलव ३ देखि ३ दशमलव ५ प्रतिशतसम्म रहेको छ । आर्थिक अभियान दैनिकबाट