Logo

केपी ओलीको भाषण रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु : माधव नेपाल



काठमाडौं, १४ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले कुनै व्यक्तिका विरुद्ध नभई व्यक्तिका प्रवृद्धिका विरुद्ध लडिरहेको स्पष्ट पारेका छन् । नेता नेपालले नाम नलिईकन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध लडेको बताएका हुन् ।

आज (सोमबार) विपक्षी गठबन्धनले पेशागत संगटनका प्रतिनिधिहरुसँग संसद् भवनको ल्होत्से हलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले आजमात्रै प्रधानमन्त्री ओलीले मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा आफूहरुको बारेमा गरेको टिप्पणीप्रति चर्चा गरेका थिए । उनले ओलीको टिप्पणी सहि भए जनताको अदालतमा उभिन तयार रहेको स्पष्ट पारेका छन् ।

उनले प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्न पनि भनेका छन् । केही दिनअघि नेता नेपालले आफूलाई प्रधानमन्त्री बन्नको लागि केपी ओलीले प्रस्ताव गरेको बताएका थिए । नेता नेपालको उक्त अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले आलोचना मात्रै गरेनन् ।

आफूले नेता नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नको लागि के आफूलाई बहुला कुकुरले टोकेको छ र ? भन्ने टिप्पणी गरेका थिए । ओलीको उक्त अभिव्यक्तिलाई लिएर नेता नेपालले भने,‘केपी ओलीका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्